शून्यतासँगको साक्षात्कार: भोटेकोसी बन्जीको अविस्मरणीय अनुभव

0

दिपेन्द्र सुवेदी

कामको सिलसिलाले सधैँ व्यस्त रहँदा पनि अवसर र समय मिल्ने बित्तिकै नयाँ गन्तव्यको खोजी र अनुभव बटुल्न यात्रा गरिरहन्छु । पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा रहेर नीति, योजना र कार्यक्रम बनाउनु मात्र पर्याप्त हुँदैन, पर्यटन गतिविधिलाई आफैँले अनुभव गर्नुपर्छ भन्ने मेरो विश्वास रहँदै आएको छ । यही सोचका साथ गत हप्ता जीवनमै पहिलो पटक बन्जी जम्प गर्ने अवसर जुर्‍यो, जुन अनुभव मेरो जीवनका अविस्मरणीय क्षणहरूमध्ये एक बन्यो ।

सिन्धुपाल्चोक जिल्लाको मामिङ र लिस्ती क्षेत्रलाई जोड्ने भोटेकोसी नदीमाथिको झोलुङ्गे पुलमा सञ्चालन भइरहेको विश्व प्रसिद्ध भोटेकोसी बन्जीमा पुग्दा मनमा उत्साह र डर दुवै थिए । टाढाबाट हेर्दा सहज लाग्ने यो साहसिक खेल आफ्नै पालो आउँदा भने कति चुनौतीपूर्ण हुन्छ भन्ने महसुस त्यतिबेला भयो, जब सुरक्षा उपकरण लगाउन थालियो ।

bunjy_4

बन्जीका प्रशिक्षकहरूले सुरक्षासम्बन्धी जानकारी र आवश्यक निर्देशिका दिए । उनीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र व्यावसायिक व्यवहारले मनमा रहेको डर केही कम गरायो । तर जब पुलको किनारमा उभिएर तल बगेको भोटेकोसी नदीतर्फ नजर पुग्यो, मुटुको ढुकढुकी एकाएक बढ्न थाल्यो । सास फुल्दै थियो, अरूले देखे–नदेखे थाहा छैन, तर त्यो क्षण शरीरभरि डर र उत्साहको मिश्रित तरङ्ग दौडिरहेको महसुस भइरहेको थियो ।

एक सय ६० मिटर उचाइबाट तल हेर्दा नदी निकै सानो देखिन्थ्यो । प्रकृतिको विशालता र मानिसको सानो अस्तित्वबिचको दूरी त्यही क्षण अनुभव गरेँ। प्रशिक्षकको सङ्केतपछि केही सेकेन्ड आँखा चिम्लिएँ, गहिरो सास फेरेँ र अन्ततः आफूलाई हावामा छोडिदिएँ।

bunjy_1

त्यसपछि के भयो भन्ने शब्दमा वर्णन गर्न सजिलो छैन । केही सेकेन्डका लागि म पूर्ण रूपमा शून्यतामा थिएँ । केवल म, आकाश र अनन्त खालीपन । शरीर तीव्र गतिमा तल झर्दै थियो, तर मन भने अनौठो शान्तिमा डुबेको थियो। त्यो क्षण डर समाप्त भएको थियो र बाँकी थियो केवल स्वतन्त्रताको अनुभूति ।
डोरीको सहारामा तल पुगेर पुनः माथितर्फ फर्कँदा जीवनका धेरै कुरा सम्झिएँ । कतिपय डरहरू वास्तविकताभन्दा हाम्रो मनमा धेरै ठुला भएर बसेका हुँदा रहेछन, सामना गर्ने साहस गरेपछि ती डरहरू क्षणभरमै हराउँदा रहेछन ।

भोटेकोसी बन्जी केवल एउटा साहसिक खेल मात्र होइन, यो आफैँसँगको सङ्घर्ष र आत्मविश्वासको परीक्षा पनि रहेछ । यही कारण विश्वका उत्कृष्ट बन्जी गन्तव्यहरूमध्ये भोटेकोसीलाई गणना गरिन्छ । देश तथा विदेशबाट हजारौँ पर्यटक यहाँ केवल रोमाञ्चक अनुभवका लागि मात्र होइन, जीवनलाई फरक दृष्टिकोणबाट महसुस गर्न पनि पुग्ने गरेका छन् ।

bunjy_8

यो अनुभवले मलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो,जीवनमा कहिलेकाहीँ अगाडि बढ्न सुरक्षित किनार छोडेर शून्यतामा हाम फाल्ने साहस पनि आवश्यक हुन्छ । भोटेकोसीको त्यो एक छलाङले केही सेकेन्डका लागि भए पनि मलाई जीवनलाई नयाँ आँखाले हेर्ने अवसर दियो। आज पनि त्यो क्षण सम्झँदा शरीरमा रोमाञ्च दौडिन्छ र मनले भन्छ, त्यो केवल बन्जी थिएन, त्यो त जीवनसँगको एउटा अद्भुत साक्षात्कार थियो ।

bunjy_10

सुवेदी बागमती प्रदेशका पर्यटन सचिव हुन्  । रातोपाटीको सहयोगमा