एन्फामा ब्यापक अनियमितता भएको आरोप

301

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ब्यापक अनियमितता भएको आरोप लागेको छ ।
एन्फाको निर्वाचन पछि व्यापक अनियमिता भएको आरोप ४ जिल्लाले आरोप लगाएका हुन् ।
केहि दिन अघि वैशाखमा भएको निर्वाचनमा आर्थिक चलखेल भएको भन्दै त्यस बखतको अडियो टेप सार्वजनिक गरेका ४ जिल्लाले पत्रकार सम्मेलन गर्दै १४ बुँदा आरोप लगाएका हुन् ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले संयुक्त पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप), अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिलाई लाई छानविन गर्न माग गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
उनीहरुले राखेप र मन्त्रालयले आफुहरुको यसअघिको उजुरीमा कुनै सुनुवाई नगरेको गुनासो गर्दै त्यहाँ आर्थिक चलखेल भएको हुन सक्ने आशंका गरेका छन् ।

धादिङका फुटबलका अध्यक्ष दीपक खतिवडाले १४ बुदे आरोपपत्र प्रस्तुत गर्दै जर्मनीको नागरिकता लिएका नवीन पान्डेलाई फिफा कंग्रेसमा सहभागी गराएको, रुसमा सम्पन्न विश्वकपमा नेपालका लागि प्राप्त टिकट वितरणमा पारदर्शिता नभएको, आर्थिक नियमावली साधारणसभाबाट पास भएपनि कार्यान्वयन नगरेको, रेलिगेसनविनाको लिग गरेको, भत्ता वितरणमा मनोमानी गरेको, एन्फा मुख्यालय तथा एकेडेमीको होस्टल पुनर्निर्माणको लागि अनावश्यक रुपमा ३ करोड रुपैयाँ खर्च गर्न लागेको आरोप लगाएका छन् ।

यस्तै एएफसीद्धारा सञ्चालित प्रतियोगितामा एएफसीसँग बढी रकम माग गरी होटेलसँग आन्तरिक सम्झौता गरी एएफसीलाई गुमराहमा राखेको, सोही होटेलमा साफद्धारा सञ्चालित फुटबल प्रतियोगितामा करिव २५ डलर कम कममा होटेलमा राखेको, एन्फा र होटेल भ्यु भृकुटीद्धारा समझदारी भएको अवस्थामा एन्फालाई प्राप्त हुनुपर्ने ११ लाख रुपैया रकम एन्फाको खातामा जम्मा गर्नुपर्नेमा निर्वाचनको बेलामा भएको खर्चमा प्रयोग गरेको र बेलायतमा सम्पन्न मुख्य प्रशिक्षक र प्राविधिक निर्देशकको सेमिनारमा उपाध्यक्षहरुलाई सहभागी गराएको जस्ता आरोप उल्लेख छन् ।

यस्तै, एसियाली फुटबल महासंघ एएफसीको कम्पिटिसन कमिटीमा विज्ञानराज शर्मा तथा मार्केटिङ कमिटीमा राजीव पौडेललाई पठाए पनि कार्यसमितिबाट निर्णय नगरिएको, पूर्व फिफा रेफ्री किरण गिरीलाई रेफ्री सेमिनारका लागि थाइल्यान्ड पुगिसकेपछि भाग लिन नदिई फर्काएको, रौतहटमा फिफाको सहयोगमा बन्न लागेको महिला टेक्निकल सेन्टरको काम अपारदर्शी ढंगमा अघि बढाएको र विभिन्न जिल्लाहरुमा प्रतियोगिता गर्दाको रकम जिल्ला फुटबल संघलाई नपठाई व्यक्तिको खातामा पठाएको जस्ता आरोपहरु लगाएका छन् ।

चार जिल्ला संघले एक साताअघि चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेका अनियमितताका विषयमा कुराकानी गरेको अडियो टेप सार्वजनिक गरेका थियो । अघिल्लो साता पत्रकार सम्मेलनमा अडियो टेप सार्वजनिक गर्दै एन्फा नेतृत्वमाथि लगाएका आरोपहरुको प्रतिक्रियामा एन्फा प्रवक्ता किरण राईले आफूहरुले माफी माग्नुपर्ने भनेकोमा भक्तपुरका अध्यक्ष गौतम सुजखुले आरोप गलत प्रमाणित गर्न एन्फालाई चुनौती दिए ।