थिमि । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कमेरोटार जग्गा एकिकरण आयोजनामा दोहोरो चरित्र प्रस्तुत गरेका छन । आयोजनाका कर्मचारी कटौती नगरेसम्म जग्गा व्यवस्थापन उपसमितिको बैठक नराख्ने अडान लिएका प्रमुखले कर्मचारी कटौती गरेको भन्दै गत भाद्र ४ गते बसेको उप–समितिको बैठक बीचमै स्थगित गरेर दोहोरो चरित्र प्रस्तुत गरेको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरले सञ्चालन गरेको कमेरोटार जग्गा एकिकरण आयोजनाको जग्गा व्यवस्थापन उप–समितिको अध्यक्ष मध्यपुर थिमि नगरपालिकाको प्रमुख हुने व्यवस्था छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा विजयी भएर आउनुभएका प्रमुख श्रेष्ठले आयोजनाको सम्बन्धमा कर्मचारी कटौती, आयोजनाको प्रगती विवरण, आयोजनाको अडिट रिपोर्ट र आयोजना नपालाई हस्तान्तरण गर्ने सम्बन्धमा निर्णय नभएसम्म उप–समितिको बैठक राख्न अस्विकार गर्दै आएको आयोजना स्रोतले जानकारी दिएको छ ।
सो अनुसार उपभोक्ता समिति, आयोजना प्रमुख, नगर प्रमुख र नपाका कार्यकारी अधिकृतसहित पटक पटक छलफल र वार्ता भएको, ती छलफलमा भएको सहमति अनुसार उपभोक्ता समितिको सिफारिषमा आयोजना प्रमुखले ८ जना कर्मचारी कटौती गरी करार थप नगर्ने निर्णय गरेका थिए । स्रोतका अनुसार प्रमुख श्रेष्ठकै सहमतिमा विकास प्राधिकरणबाट काजमा आएका अधिकृत श्यामबहादुर खत्री र अर्का कार्यालय सहायकलाई प्राधिकरणमा नै फिर्ता पठाउने, नपाका कर्मचारी अञ्जली श्रेष्ठलाई नपामा नै फिर्ता पठाउने र मोहन श्रेष्ठ, रत्नेश्वरी श्रेष्ठ, हरिओम शंखदेव, रमेश श्रेष्ठलगायतको करार थप नगर्ने निर्णय भएको थियो ।
सो निर्णय पश्चात उपसमितिको बैठक राख्न राजी भएका प्रमुख श्रेष्ठले गत भाद्र ४ गते बसेको बैठकमा करिव एक घण्टा बैठकमा ऐजेण्डा प्रवेश नगराएर विविध विषयमा छलफल गराएको र बैठक ऐजेण्डामा प्रवेश गर्नासाथ प्रमुख श्रेष्ठले बैठक स्थगित गरेको स्रोतले बताए ।
स्रोतका अनुसार प्रमुख श्रेष्ठले नातामा भाउजु पर्ने अञ्जली श्रेष्ठ र एमाले समर्थित रत्नेश्वरी श्रेष्ठको पदबहाली हुनुपर्ने अडान राखेका छन । उनले गत भाद्र ५ गते आयोजनालाई पत्र पठाएर कटौती गरेका कर्मचारीहरुलाई हाजिर गराउन आदेश समेत दिएका थिए । उपभोक्ता समितिको सिफारिषमा हटाएका कर्मचारीलाई उपभोक्ता समितिको निर्णय नभएसम्म हाजिर गराउन नमिलेपछि अहिले ती कर्मचारी दैनिक कार्यालय आउने तर हाजिर नगरी फर्कने गरेको स्रोतले जानकारी दिएको छ ।
आयोजनाका प्रमुख एवम् काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरका आयुक्त नवराज प्याकुरेलले कर्मचारी कटौती सम्बन्धमा छलफल भईरहेको बताउनुभयो । उहाँले पाँच जना कर्मचारी कटौती गर्ने विषयमा छलफल भएता पनि टुंगो नलागेको बताउँदै सोही कारण बैठक स्थगित नभएको बताउनुभयो । उहाँले आयोजनाका अध्यक्ष नगरप्रमुख श्रेष्ठले आयोजनाका विषयमा थप बुझ्न बाँकी रहेकाले सल्लाहमा बैठक समापन गरेको बताउनुभयो ।
उपसमितिको बैठक बस्न नसक्दा जग्गाको रि–प्लटिङ नक्सा, नक्सा संशोधनलगायतका विषय अनुमोदन हुन नसकेको र ती नक्सा अनुमोदन नहुँदा उपभोक्तालाई जग्गा हस्तान्तरण गर्न समस्या उत्पन्न भएको बताउनुभयो ।