काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह

100

भक्तपुर। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ । शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै उहाँले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्‍याउने बताउनुभयो ।

‘‘हाम्र पुर्खाले हामीलाई सिकाएर गएका सिपहरू, जुन संस्कृति र संस्कार छ । यी सबैलाई जीवन्त राख्नका लागि यो महोत्सवले टेवा पुर्‍याउँछ भन्ने मलाई विश्वास छ,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘आफू जन्मेको ठाउँमा बसेर के नै गर्न सकिन्छ र ? भन्ने नकारात्मक खालको भाष्य बनाउन खोजिएको छ । काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ । यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनक लागि महोत्सवले धेरै ठुलो प्रत्यक्ष रूपमा प्रभाव पार्छ ।’’

मध्यपुर महोत्सवले कला संस्कृतिले सम्पन्न मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु ल्याउन मद्दत गर्ने भन्दै उहाँले महोत्सव सफलताको शुभकामना दिनुभयो ।

सिंहले भन्नुभयो, ‘‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरूलाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनका लागि महोत्सव आयोजन भएको छ । महोत्सवका लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ ।’’ महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।