साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको परिवारलाई दुर्घटना बीमा रकम आज हस्तान्तरण गरिएको छ ।
उनको एशियाडमा सहभागी हुनुपूर्व गत जेठ ३० गते श्रीलङ्काको कोदामामा रम्बल इन जङ्गल–२०१८ मा प्रतिस्पर्धा गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको थियो ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग इन्डोनेसियामा भएको १८ औं एशियाली खेलकूदमा सहभागी सम्पूर्ण नेपाली खेलाडीको बीमा गरेको थियो ।
स्व नारायण पनि एशियाडका लागि छनोट भएका खेलाडी थिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र एनएलजीका विभागीय प्रमुख अनिल गौतमले स्व नारायणकी आमा मैया महर्जन श्रेष्ठलाई बीमावापतको रु सात लाख हस्तान्तराण गरेका हुन्।
राखेपले एनएलजीसँग गत जेठ २४ गते इन्डोनेसिया एसियाडमा सहभागी हुने सम्पूर्ण नेपाली खेलाडीको एक वर्षका लागि बीमा गरेको थियो ।
यसअघि राखेपले एनएलजीसँगै भारतमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी खेलाडी र पदाधिकारीको समेत बीमा गरेको थियो ।
गत जेठ ३० गते मृत्यु भएपनि विभिन्न कानूनी प्रक्रिया पूरा गर्दा असार ७ गतेमात्र नारायणको पार्थिव शरीर काठमाडौँ ल्याइएको थियो ।
३३ वर्षको उमेरमा मृत्यु भएका नारायणले आफ्नो १२ वर्षको खेल करियरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको नेपाल साइक्लिङ सङ्घले जनाएको छ ।
यसैगरी सोही बीमा रकम हस्तान्तरण कार्यक्रममा नेपाल साइक्लिङ सङ्घले स्व. नारायणका परिवारलाई एक लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । सङ्घका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्व नारायणकी आमा श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५, १०:२५:००






































