Home समाचार गो लोकल अभियानको समीक्षा : परम्परागत सम्पदालाई नवप्रवर्तनसँग जोड्न नीतिगत सहकार्य आवश्यक
भक्तपुर — भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले ‘गो लोकल’ अभियानअन्तर्गत गत जेठ १४ गते सम्पन्न ‘परम्परागत औद्योगिक सम्पदाः परम्परादेखि नवप्रवर्तनसम्म’ अन्तरसंवाद कार्यक्रमको समीक्षा तथा प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय उत्पादन, परम्परागत सीप तथा मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, प्राविधिक तथा आर्थिक सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले ‘१०० वर्षपछिको भक्तपुर’ अवधारणालाई आधार बनाएर नगरपालिकाले दीर्घकालीन विकास योजना अघि बढाइरहेको बताउँदै मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले जात्रा, पर्व, सांस्कृतिक परम्परा तथा स्थानीय मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका लागि समुदायसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए। सांस्कृतिक प्रतियोगिता, भक्तपुर महोत्सव तथा आन्तरिक पर्यटन प्रवर्द्धनका गतिविधिहरू पनि यही अभियानको हिस्सा रहेको उनको भनाइ थियो।

नगरप्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक सम्पदाको व्यवस्थित दस्तावेजीकरण भइरहेको जानकारी दिँदै जुजुधौ, तःकाः तपुली, कवाङचा प्याखं, घाँतु म्ये र कसिमला पाय् लगायतका मौलिक उत्पादन तथा परम्परालाई राष्ट्रिय सूचीकरण प्रक्रियामा अघि बढाइएको बताए। स्थानीय इतिहास, संस्कृति र परम्परामा आधारित पाठ्यक्रम विद्यालयमा लागू गरिएको तथा सीपमूलक शिक्षामार्फत युवालाई परम्परागत पेशासँग जोड्ने प्रयास भइरहेको उनले उल्लेख गरे।
पर्यटनसँगै स्थानीय संस्कृति संरक्षणका लागि उद्यमशीलता कर्जा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले स्थानीय उद्योग तथा हस्तकलाको प्रवर्द्धनका लागि संघीय सरकारले नीतिगत, प्राविधिक र आर्थिक सहयोग बढाउनुपर्नेमा जोड दिए। विदेशी वस्तुको अनियन्त्रित आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई अनुदान, सहुलियतपूर्ण कर्जा तथा प्रविधिको पहुँच उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ थियो।
राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठले भक्तपुरलाई अन्तर्राष्ट्रिय सांस्कृतिक गन्तव्यका रूपमा थप स्थापित गर्न स्थानीय कला, संस्कृति र उत्पादनको संरक्षण तथा प्रवर्द्धन अपरिहार्य रहेको बताइन्।
स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख नवराज अधिकारीले व्यापार र औद्योगिकीकरणको तीव्र विस्तारसँगै सांस्कृतिक सम्पदाको मौलिकता जोगाउनु चुनौतीपूर्ण भए पनि यसको संरक्षण अपरिहार्य रहेको धारणा राखे।
सामाजिक उद्यमी अनिल चित्रकारले मूर्त र अमूर्त सम्पदा एकअर्काका परिपूरक भएको उल्लेख गर्दै अमूर्त सम्पदाको संरक्षणले मूर्त सम्पदाको महत्व अझ बढ्ने बताए। उद्यमी नीलकृष्ण ताम्राकारले लोपोन्मुख परम्परागत हस्तकलालाई पुनर्जीवित गर्न औद्योगिक ढाँचामा काम गर्नुपर्ने आवश्यकता औँल्याए।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले ‘गो लोकल’ अभियानअन्तर्गत १५ वटा मौलिक उत्पादन सूचीकृत गरिएको जानकारी दिँदै ती उत्पादनलाई नवप्रवर्तन, आधुनिक प्रविधि र बजारसँग जोड्ने प्रयास निरन्तर भइरहेको बताए।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले परम्परागत सीप र पेशाको संरक्षणबाट स्वरोजगारका अवसर विस्तार हुने उल्लेख गर्दै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र सीप जोगाउनुपर्नेमा जोड दिए।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, स्टोरी साइकलका सौरभ ढकाल, ख्वप कलेजकी प्राध्यापक सुनिता गाइसी तथा बागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षा, उद्यमशीलता, नवप्रवर्तन र सांस्कृतिक सम्पदाबीचको सम्बन्धलाई सुदृढ गर्दै युवालाई उत्पादन र उद्यमसँग जोड्नुपर्ने धारणा व्यक्त गरे।
‘गो लोकल’ अभियानका संयोजक वीरेन्द्र जतिले कार्यक्रमबाट प्राप्त सुझावले स्थानीय उत्पादन, परम्परागत सीप तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि स्पष्ट मार्गदर्शन गरेको उल्लेख गर्दै प्रभावकारी नीति निर्माण र कार्यान्वयनमार्फत सुझावलाई व्यवहारमा उतार्नुपर्ने बताए।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्माले अभियानको उद्देश्य परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई आधुनिक सोच र नवप्रवर्तनसँग जोड्दै आर्थिक, सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुर्याउनु रहेको बताए।
कार्यक्रमको अवसरमा जेठ १४ गते आयोजित अन्तरसंवाद कार्यक्रमको प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापति तथा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मालाई हस्तान्तरण गरिएको थियो।
Related