काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सहमति भएको छ। शनिबार सम्पन्न सहमतिअनुसार दुवै दलले प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमतिपत्रमा उल्लेख छ।
दुवै दलले प्रदेश सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने जनाएका छन्।
सहमतिपत्रमा बजेट निर्माणका क्रममा प्रदेशसभामा देखिएका असमझदारी, बजेट विनियोजनमा देखिएको अव्यवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाजस्ता समस्यालाई समाधान गर्दै प्रभावकारी प्रदेश सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।







































