संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशद्वारा प्रकाशित लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाईज बागमती’ सार्वजनिक गरिएको छ। पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्बिरसँगै तिनको संक्षिप्त परिचय समेटिएको छ।
पुस्तक सार्वजनिक कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पुस्तकले प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले बागमती प्रदेशका पर्यटकीय गन्तव्य, धार्मिक सम्पदा तथा सांस्कृतिक विविधतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक प्रदेश चिनाउने प्रभावकारी माध्यम बन्ने बताए। “यो पुस्तक बागमती प्रदेशलाई चिनाउने महत्वपूर्ण आँखीझ्यालका रूपमा स्थापित हुनेछ,” उनले भने, “यसले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउनेछ।”
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पुस्तकमा प्रदेशको भौगोलिक सुन्दरता, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई समेटिएको बताए। उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका स्थलका प्रतिनिधिमूलक तस्बिरहरू पुस्तकमा समावेश गरिएको छ।
पुस्तकका लेखक थापाले बागमती प्रदेशको पुरातात्त्विक गौरव, ऐतिहासिक गरिमा, प्राकृतिक सौन्दर्य तथा धार्मिक महत्व बोकेका स्थानलाई तस्बिर र जानकारीमार्फत एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए। दृश्य र शब्दको संयोजनले पाठकलाई प्रदेशका सम्पदा र स्थानीय जीवनशैलीसँग नजिकबाट परिचित गराउने उनको भनाइ छ।
प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बागमती प्रदेशलाई पुस्तकमार्फत अझ प्रभावकारी रूपमा चिनाउन सकिने अपेक्षा गरिएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा, प्राचीन सभ्यता, कला–संस्कृति, धार्मिक आस्था र मनोरम पर्यटकीय गन्तव्यलाई समेटिएको उक्त पुस्तकले पर्यटन प्रवर्द्धनसँगै सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने विश्वास लिइएको छ।
भरतबन्धु थापाले यसअघि ‘वाइल्ड वेस्ट नेपाल’ (२०१३), ‘गन्तव्य कर्णाली’ (२०१९), ‘एक्सप्लोर फारवेस्ट’ (२०१९), ‘कर्णाली’ (२०२०), ‘गन्तव्य मध्यपुर’ (२०२१), ‘तस्बिरमा नेपाल’ (२०२१), ‘वेस्ट नेपाल’ (२०२२), ‘नेपाल इन इमेजेज’ (२०२३), ‘पञ्चकोशी दैलेख’ (२०२३) तथा ‘डेस्टिनेशन सोलुदुधकुण्ड’ (२०२४) लगायतका फोटो पुस्तक प्रकाशित गरिसकेका छन्। ‘प्याराडाईज बागमती’ उनको पछिल्लो कृति हो।






































