भक्तपुर — भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित पवित्र डोलेश्वर महादेव मन्दिरमा श्रावण २ गते शनिबार साप्ताहिक भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ।
सामाजिक सञ्जालमा लोकप्रिय युवाहरूको समूह एमआरआर (MRR) टोली काठमाडौं को आयोजनामा हुने उक्त कार्यक्रम साँझ ५:०० बजेदेखि मन्दिर परिसरमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
एमआरआर टोलीले हरेक शनिबार काठमाडौं उपत्यकाका विभिन्न धार्मिकस्थलमा भजन–कीर्तन तथा आराधनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटकको कार्यक्रम डोलेश्वर महादेव मन्दिरमा आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार सेवा, श्रद्धा तथा धार्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा भजन–कीर्तनमार्फत भगवान् शिवको आराधना गरिनेछ। विशेषगरी श्रावण महिनाको धार्मिक महत्वलाई मध्यनजर गर्दै भक्तजनलाई सामूहिक रूपमा भक्ति, आराधना र आध्यात्मिक वातावरणमा सहभागी गराउने उद्देश्य रहेको जनाइएको छ।
आयोजकले श्रावण २ गते शनिबार साँझ ५ बजेदेखि सञ्चालन हुने कार्यक्रममा सम्पूर्ण भक्तजन, शिवभक्त तथा भजनप्रेमीलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।






































