भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघ तथा भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा भक्तपुरका मौलिक उत्पादनहरूलाई आन्तरिक एव बाह्य पर्यटकसँग जोडी ती उत्पादन तथा उद्योगलाई जीवन्तता दिने उद्देश्यले विगत ५ वर्षदेखि गरिएको अध्ययन अनुसन्धान खोज र तथ्याङ्क सङ्कलन गरी भक्तपुरका १५ वटा मौलिक उत्पादनहरूलाई सूचीकृत गरी तयार पारिएको गो लोकल पुस्तकको आज संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ तथा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठको संयुक्त रूपमा सार्वजनिक गर्नुभयो ।
सो समारोहमा प्रमुख अतिथि माननीय मन्त्री सुरेश श्रेष्ठले भक्तपुरका मौलिक उत्पादनहरूलाई पुस्तकको रूपमा प्रकाशित गरी लोभ हुन लागेका उत्पादनलाई जागृत गर्ने कार्य गर्नुभएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यहाँका धर्म संस्कृति पर्व र जीवन्त सँगको जोडिएका उत्पादनहरूलाई बदनाम गर्ने उद्देश्यले उत्पादनमै कैफियत भएको कुरा सुन्नु परेको छ । जसले गर्दा उत्पादन गर्ने उद्योगहरू सङ्कटमा परेको हुनाले ती उद्योग तथा व्यवसायलाई संरक्षण र संवर्द्धन गर्न प्रदेश मन्त्रालय तयार रहेको बताउनु भयो ।
त्यसै गरी अर्का अतिथि माननीय विन्दु श्रेष्ठले रैथाने उत्पादनलाई उत्पादन गरी ब्राण्डिड गरी अन्तर्राष्ट्रिय बजारमा लान सके मात्र यहाँका घरेलु तथा साना उद्योगहरूको दिगोपन हुने हुनाले प्रदेश सरकारले ती उद्योग तथा व्यवसायलाई विभिन्न सुविधाहरू दिएर संरक्षण गर्ने बताउनु भयो । साथै उहाँले घरेलु उद्योगलाई आवश्यक कच्चा पर्दाथको अभाव भएको हुँदा हामी आफैले यहाँका उद्योग व्यवसायलाई आवश्यक कच्चा पर्दाथ उत्पादन गर्न रैथाने बिउहरू जोगाउन प्रदेश सरकार मात्र नभई स्थानीय सरकारले पनि ध्यान दिनु आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा अर्का अतिथि भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले घरेलु तथा साना उद्योगलाई संरक्षण र संवर्द्धन गरी लान नसके देशको आर्थिक स्तर वृद्धि नहुने भएकोले यस्ता उद्योगलाई प्रदेश सरकारले स्थानीय सरकाले विभिन्न सेवा सुविधाहरू दिँदै आएको जानकारी गराउँदै यो घरेलु उद्योगका उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गर्न स्थानीय निकायले सहकार्य गर्दै आइरहेको बताउनु भयो। साथै भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले सञ्चालन गरिरहेको यो गो लोकल कार्यक्रमको हाल सम्म गरेको कार्यको हालसम्मको उपलब्धिबारे समीक्षा गरी आगामी दिनमा के कसरी जाने भने कुराको रणनीति तयार गरी जानु पर्ने बताउनु भयो ।
त्यसै गरी उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको सहयोगमा सञ्चालन भइरहेको गो लोकल कार्यक्रमको पुस्तकले भक्तपुरका मौलिक उत्पादनका उत्पादनहरूको दस्ताबेज तयार भएकोमा खुसी व्यक्त गरी यहाँको उत्पादन यहाँको सीपलाई जोगाई राख्न उद्योग तथा वाणिज्य कार्यालयले समय समयमा विभिन्न सिपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी गराउनु हुँदै भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले उठाएको गो लोकलका मुद्दा संवेदनशील छ भन्नु भयो ।
कार्यक्रममा गो लोकल कार्यक्रममा संयोजक वीरेन्द्र जतिले गो लोकल कार्यक्रम सञ्चालन गर्नुको औचित्य उपलब्धि तथा चुनौतीबारे बताउनु भयो भने सह संयोजक राम सुन्दर भेलेले गो लोकल अन्तर्गत हाललाई ५ बटा उत्पादनको मात्र संक्षिप्त श्रव्य दृश्य मार्फत गो लोकलको उपदेयता बारे जानकारी गराउनु भयो।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका महासचिव रवीन्द्र श्रेष्ठ तथा गो लोकल कार्यक्रमका मस्यौदाकार ईश्वर काजी खाईजुले पनि गो लोकल कार्यक्रमबारे चर्चा गर्नुभएको थियो ।








































