लहानमा मालदह आँपको मूल्य दोब्बर, किसानभन्दा व्यापारी बढी लाभान्वित

0

लहान (सिरहा) — आँपको राजधानीका रूपमा परिचित लहानमा मालदह आँपको मूल्य पछिल्लो दस दिनमै दोब्बर पुगेको छ। किसानको बगैंचामा मालदह आँप सकिन थालेसँगै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको आँपको मूल्य बढेर १०० रुपैयाँ पुगेको हो।

आँपको आपूर्ति घटेसँगै मूल्य बढ्नु स्वाभाविक मानिए पनि बजार व्यवस्थापनको अभाव, सरकारी अनुगमनको कमी र उचित मूल्य निर्धारण नहुँदा किसानभन्दा व्यापारी बढी लाभान्वित भएको उपभोक्ता तथा कृषकहरूको गुनासो छ।

लहान–१ का स्थानीय नेनीलाल रामले बजारमा आँपको मूल्य अस्वाभाविक रूपमा बढेको बताउँदै किसानले भन्दा व्यापारीले बढी नाफा कमाइरहेको आरोप लगाउनुभयो। उहाँका अनुसार नियमित बजार अनुगमन र मूल्य निर्धारणको प्रभावकारी व्यवस्था नहुँदा व्यापारीले मनपरी मूल्यमा आँप बिक्री गरिरहेका छन्।

व्यापारीहरूका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अझै करिब दस दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र अम्रपाली जातका आँप बजारमा आउने अपेक्षा गरिएको छ।

सखुवानन्कारकट्टी गाउँपालिकाका कृषक तिरपित यादवले किसानले उत्पादन गरेको आँपको उचित मूल्य कहिल्यै नपाएको गुनासो गर्नुभयो। असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानहरू बगैंचामा बसेर आँप बिक्री गर्ने कि खेतमा धान रोप्ने भन्ने द्विविधामा पर्ने गरेको उहाँको भनाइ छ। यही अवस्थाको फाइदा उठाउँदै व्यापारीहरूले किसानबाट सस्तो मूल्यमा आँप खरिद गरी बजारमा महँगो मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो।

उहाँले आँपका लागि प्रशोधन केन्द्र, शीतभण्डार तथा व्यवस्थित बजारको अभाव रहेसम्म किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने धारणा राख्नुभयो।

वरिष्ठ लेखक तथा हुलाकी मार्ग अभियानका अभियन्ता रामरिझन यादवले सिरहा र सप्तरीका किसानलाई लक्षित गरी लहानलाई व्यवस्थित आँप बजारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार विगतमा गरिएको आँप ब्रान्डिङलाई निरन्तरता दिँदै अन्य जिल्लामा बजारीकरण गर्न स्थानीय तह र सम्बन्धित निकायले सक्रिय भूमिका खेल्नुपर्ने थियो।

उहाँले लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, कर्जन्हा नगरपालिका तथा भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही गाउँपालिका र सिरहा नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग तथा हुलाकी मार्गमा आँप बिक्री केन्द्र सञ्चालन, आँप महोत्सव आयोजना र बजार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउनुभयो।

कृषि क्षेत्रका जानकारहरूका अनुसार व्यवस्थित बजार, शीतभण्डार, प्रशोधन उद्योग र प्रभावकारी मूल्य व्यवस्थापनको अभावका कारण प्रत्येक वर्ष किसानले उत्पादनको उचित मूल्य गुमाउँदै आएका छन् भने अन्तिम उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य भइरहेका छन्।