भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. ८ ल्यासिंखेल चुपिनघाँटस्थित कहाँल्चामा मोटरसाईकलमा आएका दुई जनाले चक्कु देखाएर दिउँसो ११ : २५ बजे रु. ६ लाख लुटेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईले घरबाट ल्याएको रु. चार लाख र कमल विनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु. दुई लाख गरि रु. ६ लाख लिएर सूर्यविनायक तर्फ जादै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।
दिउँसो सवा ११ बजे बैंकबाट पैसा झिकेर झोलामा हालेर हिडेरै सूर्यविनायक तर्फ जादै गर्दा एकान्तमा पारेर मोटरसाईकलमा माक्स लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताउनुभयो ।
निर्माण व्याबसायी समेत रहनु भएका बजगाईले भन्नुभयो–“पैसा लिएर सूर्यविनायकमा निर्माण मजदूरहरुलाई मासिक ज्याला दिन जादै थिए, मोटरसाईकलमा आएका व्यक्तिले चक्कू झिकेर कराईस् भने मारिदिन्छु भनेर पैसाको झोला खोसेर लगे, मेरो होस हवास नै उड्यो ।”
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले घट्नाको जानकारी आए लगत्तै चारैतर्फ कडाईका साथ चेकजाँच गरेर लुटेराको खोजी भईरहेको बताउनुभयो । उहाँले बैंकको भित्र रहेको सिसि क्यामरा र अन्य अनुसन्धानको प्रक्रिया अपनाएर लुटेराको खोजी भईरहेको बताउँनुभयो ।







































