विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपालको उच्च प्राथामिकता : मन्त्री पोखरेल
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोगगरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताएका छन । सम्मेलनमा भाग लिन ३० जेठमा चीन गएका मन्त्री पोखरेल भ्रमण छोट्याई शुक्रबार स्वदेश फर्केका छन् ।
चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ गएका मन्त्री पोखरेलले कुन्मिङमा आयोजित पाँचौं चाईना साउथ एसिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ एसिया टेक्नोलोजी ट्रान्सफर र कोलाब्रेसन इनोभेसनमा सम्बोधन गर्दै विज्ञान र प्रविधिलाई सामाजिक सेवा, गरिबि नियन्त्रण, बिद्यालय पाठ्यक्रम, ज्ञान र सिपमा आधारित अर्थतन्त्रको प्रवद्र्वन, दिगो विकासको लक्ष्य पुरा गर्ने दिशामा मुलकका लागि प्रमुख अपेक्षा रहेको बताए ।
सम्मेलनले नेपाल, चीन र सहभागी मुलुकबीच असल अभ्यास र सिकाईको आदान–प्रदानको अवसर सिर्जनागरी विकासका सबैं क्षेत्रमा बिज्ञान र प्रविधिको सवलिकरणमा योगदान दिने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले युवा, उद्यमी र नव प्रवर्तनकर्तालाई यस्ता सम्मेलनले सहि र वैंकल्पिक मार्ग प्रदान गर्ने कुरामा जोड दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तीमा जनाइएको छ ।
मन्त्री पोखरेलले प्रविधिमा आधारित शिक्षा नेपाललाई सामाजिक र राष्ट्रिय विकासमा बलियो साधन साबित हुने उल्लेख गर्दै यसका लागि नेपाल र चीनबिच दुई पक्षिय र बहुआयामिक रुपमा आगामी दिनमा सहकार्य अभिबृद्वी हुने विश्वास लिएको बताए ।
भ्रमणको क्रममा मन्त्री पोखरेलको उपस्थितीमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान संग चीनका बिभिन्न प्रतिष्ठान बिच आपसी सम्झौंता भएको र भ्रमणका अवसरमा सम्मेलनमा सहभागी बिभिन्न मुलुकका उपप्रधामन्त्री तथा उच्च अधिकारी बिच भेटवार्ता पनि भएको पनि मन्त्रालयले जनाएको छ ।
यसैबीच, भ्रमणको क्रममा मन्त्री पोखरेलले सो प्रान्तको प्रमुख मानिने युनान कृषि विश्व विद्यालयको अवलोकन गरेका छन् ।






































