ढोरपाटन — ढोरपाटन नगरपालिकाले आगामी जनैपूर्णिमाको पावन अवसरमा एयरपोर्ट प्राङ्गणमा ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ आयोजना गर्ने भएको छ।
ढोरपाटन र बुकीपाटन क्षेत्रमा उत्पादन हुने प्रसिद्ध आलु तथा अन्य रैथाने अर्गानिक कृषि उपजको राष्ट्रियस्तरमा प्रवर्द्धन, बजारीकरण र ब्रान्डिङ गर्ने उद्देश्यले स्थानीय सरकारको अगुवाइमा महोत्सव आयोजना गर्न लागिएको हो।
कार्यवाहक नगर प्रमुख कल्याण कायतका अनुसार महोत्सवको मूल नारा “अर्गानिक उत्पादनको पहिचान, ढोरपाटन समृद्धिको अभियान” रहेको छ।
महोत्सवमार्फत स्थानीय कृषकले उत्पादन गरेका जैविक कृषि उपजलाई बिचौलियाविनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, निजी क्षेत्रको व्यावसायिक लगानी आकर्षित गर्ने तथा कृषि, दिगो पर्यटन र खेलकुद क्षेत्रको एकीकृत विकासलाई टेवा पुर्याउने लक्ष्य राखिएको छ।
महोत्सवमा ढोरपाटन क्षेत्रको मौलिक लोकसंस्कृति, परम्परागत भेषभूषा, कला तथा रैथाने पहिचानको जीवन्त प्रदर्शन गरिनेछ। साथै कृषि वैज्ञानिक, पर्यटनविद्, युवा नेतृत्व तथा सरोकारवालासँग कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनबारे परामर्श तथा अन्तर्क्रिया कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
कार्यवाहक नगर प्रमुख कायतले ढोरपाटनको प्राकृतिक सौन्दर्य र अर्गानिक उत्पादनको प्रवर्द्धनका लागि देशभरका उद्योगी, व्यवसायी तथा कर्पोरेट लगानीकर्तालाई लगानीका लागि आग्रह गर्नुभएको छ। साथै महोत्सवको व्यापक प्रचार–प्रसारका लागि राष्ट्रिय सञ्चार माध्यम, फेसबुक, युट्युब, टिकटकलगायत डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन अभियानमा सहभागी हुन युवा, सञ्चारकर्मी र आम नागरिकलाई आह्वान गर्नुभएको छ।







































