धरान (सुनसरी) । तिहार सकिएसँगै धरानमा अहिले छठ पर्वको चहलपहल सुरु भएको छ। बजारमा छठ मनाउनेहरूले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायत सामग्री खरिदमा व्यस्त छन्।
सुनसरीको रामधुनी नगरपालिका–५, झुम्काका व्यापारी धर्मुकु स्वामीका अनुसार छठ पर्वमा बाँसका सामग्रीको बिक्री अत्यधिक हुने गर्छ। “तीन–चार दिनमै तीन लाखभन्दा बढीको कारोबार हुन्छ,” उहाँले भन्नुभयो। स्वामीले भोजपुर, धनकुटा लगायतका पहाडी क्षेत्र र भारतका विभिन्न स्थानबाट बाँसका सामग्री ल्याएर बिक्री गर्दै आउनुभएको छ। “सहरमा चोया सामग्री बनाउने कम भएकाले बाहिरबाट ल्याउनुपर्ने हुन्छ,” उहाँले थप्नुभयो।
व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन्। “छठ पर्व हामीजस्ता व्यापारीका लागि अवसर हो। बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ,” उहाँले बताउनुभयो। रौनियाले भारतबाट ल्याइएका सामान झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्ने बताइन्।
ग्राहक लक्ष्मी खड्काले छठका लागि चोयाका सामान खरिद गर्न बजार आएकी बताइन्। “छठमा विशेष गरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ,” उहाँले भनिन्।
छठ पर्वले धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन, यसले बाँसका परम्परागत पेसा र हस्तकला संरक्षणमा समेत योगदान पुर्याएको छ। पर्वका अवसरमा व्यापारीले राम्रो आम्दानी गर्न पाएका छन् भने स्थानीय तथा भारतबाट आयातित सामग्रीले उपभोक्ताको विविध माग पूरा गरिरहेका छन्।








































