नारायणमानको फोटो भक्तपुरका शिक्षकलाई सन्दर्भ सामग्री

1601

भक्तपुर । राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरुलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ ।
स्थानीय पाठ्यक्रम लागू गर्ने काममा अगुवाई गरेको भक्तपुर नगरपालिकाको आफ्नो पाठ्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंदेखि लिएर २०४६ सालको जनआन्दोलनका क्रममा सहादत पाएका व्यक्तिहरुको फोटो विद्यालयहरुलाई शैक्षिक सामग्रीका रुपमा विद्यालयहरुलाई हस्तान्तरण गरेको छ ।
यसबाट पाठ्यक्रममा ती व्यक्तिहरुको जीवनी समेटिएको प्रष्ट भएको छ । भक्तपुर नपाले चालू शैक्षिक सत्रको बैशाखदेखि स्थानीय पाठ्यक्रम लागू भएको हो । नगरपालिकाले आफ्नो तहमा रहेका ९२ वटा विद्यालयहरुमा यो वर्षदेखि कक्षा १ र ६ मा यो पाठ्यक्रम लागू गरेको हो ।
अध्यापनमा सहयोग पुर्याउन भन्दै वितरण गरिएको फोटोफ्रेममा नेता बिजुक्छेंमात्र नभएर त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायका पूर्व डीन पृथुचरण वैद्य, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, सहिदहरु राजकुमार सुवाल, कृष्णराम दुवाल, हरिकृष्ण भुजु, महेश श्रेष्ठ, पुष्परत्न शाक्य, निर्मलकुमार शाक्य छन् । त्यस्तै काजीमान कर्माचार्य, नेपालभाषाका अगुवा जगतसुन्दर मल्ल, विवेकदास वस्ताज र संस्कृतिकर्मी लीलाभक्त मुनंकर्मीको फोटो पनि छ ।
यसका साथै नपाले नेपाल संवत लागू गराउन उल्लेखनीय योगदान दिएका शंखधर साख्वा र नेपालभाषाका साहित्यकार रामशेखर नकर्मीको फोटो पनि विद्यालयलाई दिएको छ ।
प्रत्येक विद्यालयलाई १६ जिबीको पेनड्राइभ, तथा पुस्तकहरुमा बिस्काः जात्रा, गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, भक्तपुर, द हिस्ट्रिकल सिटी, इन्साइट अ कल्चरल सिटी, भक्तपुर तथा सहिदहरुको जीवनी पुस्तिका पनि दिएको भक्तपुर नगपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।

सो क्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरबारे नयाँ पुस्तालालई जानकारी दिनका लागि पाठ्यक्रम बनाएर लागू गरिएको बताउँदै पाठ्यक्रम लागू गर्न सबैको भूमिका महत्वपूर्ण भएको बताए ।