पोखरा प्रिमियर लिगको खेलाडी दर्ता सुरू :: रासस :: Setopati

366

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ। 

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो। खेलाडी दर्ता प्रक्रिया एक सातासम्म रहनेछ। खेलाडीले आजैको दिनबाट असोज ९ गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। 

खेलाडीले लिगको अधिकारिक वेबसाइट www.pplt20.com बाट आफ्नो नाम दर्ता गराउन सक्नेछन्। खेलाडीले दर्ता शुल्कबापत रु एक हजार तिर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ। उक्त रकम ई सेवाबाट बुझाउन सकिनेसमेत आयोजकले बताएको छ। 

प्रतियोगिताका लागि आयोजकले खेलाडीलाई तीन/तीन श्रेणीमा विभाजन गरी दर्ता प्रक्रिया शुरु गरेको जनाएको छ। खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभेल र अनक्याप्ड खेलाडी गरी तीन श्रेणीमा विभाजन गरिएको छ। 

क्याप्ड सिनियरमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी रहनेछन्। अक्सनमा यस श्रेणीका खेलाडीको न्यूनतम मूल्य रु ५० हजारदेखि दुई लाख ५० हजारसम्म रहनेछ। क्याप्ड एज लेभेलमा नेपाली टोलीबाट उमेर समूहका प्रतियोगिता खेलिसकेका खेलाडी रहनेछन्। यस श्रेणीका खेलाडीको न्यूनतम मूल्य रु ५० हजारदेखि एक लाख ५० हजारसम्म रहनेछ। 

त्यस्तै अनक्याप्ड खेलाडी न्यूनतम मूल्य रु ३० हजारदेखि एक लाखसम्म रहेको छ। लिगमा नौ टोली सहभागी हुनेछन्।

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५, ०७:३७:००

Source link