भक्तपुर : प्रतिलिपि अधिकारको बहानामा रेडियो सञ्चालकहरूमाथि अनावश्यकरूपमा धरपकड गरेको र फौजदारी अभियोग लगाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले ललितपुरमा आकस्मिक संयुक्त भेला गरी राज्यको ध्यानाकर्षण गरेका हुन्।
भक्तपुर एफएमका सञ्चालकमाथि संगीत रोयल्टी संकलन समाजको नाममा फौजदारी अभियोग लगाएर गरिएको धरपकडको घटनालाई संगठनहरूले ‘नियोजित सन्त्रास’ को संज्ञा दिएका छन्।
विगतदेखि नै संगीत रोयल्टीको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा, वार्ता र संवादको प्रक्रियालाई लत्याएर गरिएका धरपकडका गतिविधिले कानूनी प्रक्रियाको समेत उल्लंघन गरेको तीनै संगठनले बताएका छन्।
उनीहरूले रेडियो र स्रष्टाबीचको सम्बन्धमा दरार पैदा गर्ने यस्ता कार्य रोकेर तत्काल न्यायोचित र पारदर्शी प्रणाली निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन्।
भक्तपुर एफएमका संस्थापक हालका अध्यक्ष राजेश हाडामाथि प्रतिलिपि अधिकार ऐनको आधार देखाउँदै ‘संगीत रोयल्टी संकलन समाज’ का नाममा मुद्दा दर्ता भएको थियो। संस्थागत रूपमा नलगी फौजदारी मुद्दा लगाएको र अदालतमा बयान दिन जाँदा प्रहरीले दुर्व्यवहार गरेको हाडाले बताए। उनलाई अदालतले वैशाख २५ गते बयानपछि धरौटीमा छाडेको थियो।









































