काठमाडौं — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले प्रदेशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि आफू नेतृत्वको सरकारलाई समर्थन गर्न वा वैकल्पिक सरकार गठनका लागि तत्काल बहुमत जुटाउन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग आग्रह गरेका छन्।
सोमबार ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री बानियाँले सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अन्योलको अवस्थामा पुगेको उल्लेख गर्दै राजनीतिक निकासका लागि दलहरूलाई स्पष्ट निर्णय लिन आग्रह गरे।
उनले आफूले विगतदेखि नै एमाले र नेपाल कम्युनिष्ट पार्टी ले बहुमत जुटाए सरकार हस्तान्तरण गर्न तयार रहेको बताउँदै आए पनि हालसम्म वैकल्पिक सरकार गठनका लागि आवश्यक बहुमत जुट्न नसकेको बताए। यही अवस्थाले प्रदेशलाई अनिर्णयको बन्दी बनाएको भन्दै निकास खोज्न सर्वदलीय बैठक बोलाइएको उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले यदि अन्य दलहरूले आफ्नो नेतृत्वको सरकारलाई समर्थन गरे तत्काल विश्वासको मत लिएर प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्ने प्रतिबद्धता व्यक्त गरे। चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रदेशसभाबाट पारित भइसकेकाले त्यसको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकका अपेक्षा पूरा गर्न सरकार तयार रहेको उनले बताए।
उनले एमालेसँग समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै अन्य दललाई सरकारमा सहभागी नभए पनि स्थायित्वका लागि समर्थन गर्न अनुरोध गरे। बैठकका क्रममा उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई लिखित रूपमा समेत समर्थनको आग्रह गरेका थिए।
बैठकमा पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल तथा एमालेका मधुसुदन पौडेल लगायतको सहभागिता रहेको थियो।
बैठकमा सहभागी नेताहरूले बागमती प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्दै संविधानसम्मत र स्थायी समाधान खोज्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।







































