बाखा बजारस्थित महादेव मन्दिर परिसरमा परम्परागत दबु निर्माण सम्पन्न

0

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–६ स्थित बाखा बजारको महादेव मन्दिर परिसरमा परम्परागत शैलीको दबु निर्माण सम्पन्न भएको छ।

मध्यपुर थिमि नगरपालिकाका अनुसार मन्दिर दर्शनका लागि आउने भक्तजन तथा धार्मिक पर्यटकलाई विश्राम, अवलोकन तथा धार्मिक गतिविधि सञ्चालनमा सहजता प्रदान गर्ने उद्देश्यले मन्दिर परिसरमा दबु निर्माण गरिएको हो।

वडा नं. ६ को वडास्तरीय बजेटबाट निर्माण गरिएको उक्त दबु सम्पन्न भएपछि वडा कार्यालयले स्थलगत अनुगमनसमेत गरेको छ। स्थानीय समुदायले समेत दबु निर्माणले मन्दिर परिसरको सौन्दर्य वृद्धि हुनुका साथै धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नेपालको प्राचीन सभ्यता र संस्कृतिसँग जोडिएको दबु निर्माणको परम्परा लिच्छविकालदेखि नै चलिआएको इतिहास छ। धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा प्रयोग हुने यस्ता संरचनाले समुदायलाई एकताबद्ध बनाउनुका साथै स्थानीय सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सोही परम्परालाई निरन्तरता दिँदै मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानहरूमा यस्ता संरचनाको संरक्षण र निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माण तथा नवनिर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार नगरभित्रका विभिन्न वडा तथा टोलमा रहेका मठ–मन्दिर, पाटी, पौवा तथा अन्य सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका कार्यहरू निरन्तर रूपमा सञ्चालन भइरहेका छन्।

उहाँले सांस्कृतिक सम्पदाको संरक्षणले स्थानीय पहिचान, परम्परा तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।