भक्तपुर। सिठि नखा पर्वको अवसर पारेर भक्तपुरमा ‘HERITAGE MARKET – CULTURAL KITCHEN’ मेला आयोजना हुने भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना, भक्तपुर पर्यटन विकास समितिको सहकार्य तथा ‘गो लोकल’ अभियानको संयोजनमा असार ६ र ७ गते भक्तपुर नगरपालिका–२ स्थित नःपुखु परिसरमा मेला सञ्चालन हुने भएको हो।
भक्तपुरका मौलिक तथा परम्परागत उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको यो मेला १५औँ संस्करण रहेको आयोजक संस्था भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले जानकारी दिनुभयो।
भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले अभियानका रूपमा सञ्चालन गर्दै आएको ‘गो लोकल’ अभियानको संयोजनमा हुने मेलामा भक्तपुरका मौलिक उत्पादनहरू जस्तै जुजुधौ, भादगाउँले टोपी, काष्ठकला, हस्तकला, नेवारी कपडा, ताइचिन बजी, नर्सरीका सामग्री, अचार, पाउँ, नेपाली कपडालगायत विभिन्न उपहार सामग्रीका स्टलहरू रहनेछन्।
त्यसैगरी नेवारी खाजा, योमरी तथा च्याउका विभिन्न परिकारसहित कुल ४० वटा स्टल रहने आयोजकले जनाएको छ। मेला बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।
मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा हुने मेला व्यवस्थापन समितिका संयोजक हरिगोपाल त्वायनाले जानकारी दिनुभयो।
मेलाका क्रममा स्टल सजावट, व्यापार व्यवस्थापन तथा व्यवसायिक प्रस्तुतिका आधारमा मूल्याङ्कन गरी दुईवटा उत्कृष्ट स्टललाई सम्मान गरिने मूल्याङ्कन समितिका संयोजक सोम तामाङले बताउनुभयो।
आयोजकले मेला अवलोकन गरी स्थानीय उत्पादन खरिद गरेर उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासी तथा आगन्तुकहरूलाई आग्रह गरेको छ। मेलामा प्रवेश निःशुल्क रहने जनाइएको छ।







































