बोहरा ग्रुपले दशैँअघि सूर्यमुखी र भटमासको तेल बजारमा ल्याउने, भुसको तेलको स्वीकृति अझै आएन :: BIZMANDU

314


विराटनगर। बोहरा ग्रुपले दशैँअगाडि दुई प्रकारका खाने तेल उत्पादन गरेर बजारमा ल्याउने भएको छ ।

विराटनगर नाकाबाट २५ किलोमिटर उत्तरमा पर्ने खनारमा बोहरा ग्रुपको सञ्चालनमा रहेको एभरेस्ट सोलभेन्ट उद्योगले सूर्यमुखी र भटमासका गरी दुई प्रकारका खाने तेल उत्पादन गरेर बजारमा ल्याउने भएको हो ।

ग्रुपका सञ्चालक अविनाश बोहराले ‘च्वाइस’ ब्रान्डमा सूर्यमुखी र भटमासको तेल दशैँअगाडि बजारमा आइसक्ने जानकारी दिए ।
एभरेस्ट सोलभेन्टमा ५० करोडको लगानी रहेको सञ्चालक बोहरा बताए ।

एभरेस्टले हालसम्म भटमासको कच्चा तेल उत्पादन गरेर स्थानीय रिफाइनरी उद्योगलाई विक्री गरिरहेको थियो । उद्योगले कच्चा तेलको प्रशोधनका लागि अत्याधुनिक र उच्च गुणस्तरको भारतीय मेसिन जडान गर्ने काम पूरा गरिसकेको उनले बताए ।

बोहराका अनुसार उद्योगमा लगाइएको मेसिन पूर्णतः कम्प्युटर मोनिटरिङमा आधारित रहेको र अहिलेसम्मकै उत्कृष्ट हो ।

उद्योग अब भटमास र सूर्यमुखीको पूर्ण प्रशोधित तेलको उत्पादन गर्ने अवस्थामा पुगेको उनले उल्लेख गरे ।

सञ्चालक बोहराले राइस ब्रान (धानको भुस)–को तेल उत्पादन र प्रशोधन गरेर बजारमा ल्याउन समय लाग्ने बताए ।

स्वास्थ्यका लागि हितकर र ‘ओमेगा थ्री’ प्रदान गर्ने मानिएको राइस ब्रानको तेलको उत्पादन र प्रशोधन गरेर विक्रीवितरण गर्ने स्वीकृति नेपाल सरकारले अझै दिएको छैन ।

उद्यमी अविनाशले राइस ब्रानको तेलको प्रशोधन र विक्रीवितरणका लागि सरकारमा प्रक्रिया अगाडि बढाइएको बताए । ‘तर यसको स्वीकृति आइसकेको छैन’ उनले भने, ‘सरकारबाट स्वीकृति पाउनेबित्तिकै हामी अर्कै नयाँ ब्रान्डमा राइस ब्रानको तेल ल्याउने छौँ ।’

उद्योगले राइस ब्रानको कच्चा तेल उत्पादन गरेर भारत निर्यात गरिरहेको छ । नेपालको धानबाट निस्किएको भुसबाट उच्च गुणस्तरको तेल उत्पादन हुने बोहराको दाबी छ । यसका लागि बाहिरबाट भुस आयात गर्नु नपर्ने उनले उल्लेख गरे ।

भटमास र सूर्यमुखीका दाना भारत र तेस्रो मुलुकबाट पैठारी गरिएको बोहराले जानकारी दिए ।

सीमा क्षेत्रमा भारतबाट अनधिकृत पैठारी भएर आएको सस्तो र गुणस्तरहीन खाने तेलले स्वदेशी तेल उद्योगलाई सङ्कटमा पारिरहेका बेला बोहरा ग्रुपले तेल उद्योग ल्याउने साहस गरेको छ ।

उद्योगको क्षमता प्रति दिन १ सय मेट्रिक टन खाने तेल उत्पादन गर्ने छ । बोहराले आफ्नै उद्योगमा उत्पादित कच्चा पदार्थ भएका कारणले प्रशोधित तेलको उत्पादन लागत केही सस्तो पर्ने तर्क गरे । त्यसैले अनधिकृत रूपमा भित्रने भारतीय तेलसित प्रतिस्पर्धा गर्न सकिने उनको भनाई छ।

‘ब्लेन्डिङको अनुमति चाहियो’

उच्च गुणस्तरका मेसिनबाट उत्पादन र प्रशोधन गरिएका विभिन्न तेल मिसाएर मिश्रित तेलको उपभोग गर्ने चलन संसारभरि चलिरहेका बेला नेपालमा भने सरकारले यसको स्वीकृति दिएको छैन ।

‘मेडिकल साइन्सले सुस्वास्थ्य र पोषणका लागि मिसाइएको तेललाई उत्तम भनेको छ र संसारभरि यसको प्रयोग बढिरहेको छ’, उद्यमी अविनाशको भनाइ छ, ‘छिमेकी भारतमा पनि ‘ब्लेन्डिङ आयल’को प्रयोग दिनानुदिन बढिरहेको छ । हामी यस्तो तेल उत्पादन र प्रशोधन गरेर बजारमा ल्याउन सक्छौँ तर नेपाल सरकारले यस्तो तेल विक्री गर्ने स्वीकृति दिएको छैन ।’

नेपालमा पनि ब्लेन्डिङ आयलका उपभोक्ता बिस्तारै बढिरहेको उनले बताए । सरकारले यस्तो तेलको उत्पादन, प्रशोधन र विक्रीवितरणका लागि कानुनमा परिमार्जन गरेर व्यवसायलाई सहज बनाउनु पर्ने उनको आग्रह छ ।
 
लेसिथिन प्लान्ट पनि सँगसँगै

तेल उद्योगसँगसँगै विभित्र प्रकारका बिस्कुट र कन्फेक्सनरीमा प्रयोग गरिने फुड ग्रेड लेसिथिनको पनि उत्पादन गरिने भएको छ । उद्योगको प्रति दिन ५ मेट्रिक टन लेसिथिन उत्पादन गर्ने क्षमता छ ।

क्रिम बिस्कुटको बीच भागमा प्रयोग गरिने क्रिम नै लेसिथिन हो । भटमासको तेल निकाल्दा यसबाट एक प्रकारको लिस्याइलो पदार्थ पनि सँगसँगै उत्पादन हुन्छ । यही वस्तुलाई लेसिथिन भनिन्छ र यो पूर्णतः खानयोग्य हुन्छ ।

लेसिथिनलाई भारतमा निर्यात गर्न पनि सकिन्छ । उद्योगले लेसिथिनलाई नेपाल र भारत दुबै मुलुकमा विक्री गर्ने उनले जानकारी दिए ।

 




बोहरा ग्रुपले दशैँअघि सूर्यमुखी र भटमासको तेल बजारमा ल्याउने, भुसको तेलको स्वीकृति अझै आएन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link