भक्तपुर। मध्यपुर थिमी नगरपालिका–१ लोहकिल्थलीमा जिल्लाव्यापी बासुरी बाजा प्रतियोगिता हुने भएको छ। नगरपालिका र स्थानीय श्री सिद्धि गणेश दाफा भजन खलःको सहकार्यमा प्रतियोगिता आगामी वैशाख २७ गते शनिबार आयोजना गरिनेछ।
प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न बासुरी बाजा प्रतियोगिता मूल समिति गठन गरिएको छ। समितिका संयोजक करन द्वारेका अनुसार कार्यक्रम सफल बनाउन आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, प्रचार–प्रसार र निर्णायक मण्डल व्यवस्थापन उपसमितिहरू पनि गठन गरिएका छन्।
प्रतियोगितामा भक्तपुर जिल्लाभरिका बासुरी बाजा खलः, गुठी, पुचः, समूह तथा संघ–संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। एक टोलीमा १ जना गुरु र १५ जना बाद्यवादक सदस्य हुनुपर्नेछ।
प्रस्तुतीका लागि २० मिनेट समय
प्रत्येक टोलीलाई २० मिनेटको समय दिइनेछ। यस अवधिमा टोलीले तयारी, वार्म अप, र निर्णायक मण्डलले तोकेको एक धुनमा प्रस्तुती दिनुपर्नेछ। सहभागिताका लागि टोलीले कम्तीमा ५ वटा धुन (बोल) दर्ता गर्नुपर्नेछ, जसमा एक ‘वार्म अप’का लागि र अर्को निर्णायकको छनोटका लागि उपयोग गरिनेछ।
पुरस्कार राशी र मूल्यांकन
प्रतियोगिताको मूल्यांकन विभिन्न विधामा गरिएको अंकका आधारमा गरिनेछ।
विजेता टोलीहरूलाई निम्नानुसार पुरस्कार प्रदान गरिनेछ:
-
प्रथम पुरस्कार: नगद ६० हजार, शिल्ड र प्रमाणपत्र
-
द्वितीय पुरस्कार: नगद ३० हजार, शिल्ड र प्रमाणपत्र
-
तृतीय पुरस्कार: नगद १५ हजार, शिल्ड र प्रमाणपत्र
-
सान्त्वना पुरस्कार: नगद १० हजार, प्रमाणपत्र
स्थानीय संस्कृति संरक्षणमा जोड
नगरप्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार, स्थानीय कला–संस्कृति तथा मूर्त–अमूर्त सम्पदाको संरक्षण र बासुरी बाजा जस्ता परम्परागत संगीतप्रतिको युवाहरूको आकर्षण वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।








































