भक्तपुरमा निजी विद्यालयका प्रिन्सिपलको पोनिस्मेन्ट पिँडुलामा सुम्ला र कपाल मुण्डन

1675

भक्तपुर । भक्तपुरमा एक संस्थागत विद्यालयका प्रिन्सिपलले विद्यार्थीलाई पोनिस्मेन्टका नाममा पिँडुलामा सुम्ला उठ्ने गरी कुटेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्वर ९ नंखेलको भातेदिकुरस्थित मदरल्याण्ड इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल सञ्जय खड्काले सोही विद्यालयको कक्षा७ मा अध्ययनरत सविन श्रेष्ठलाई पोनिस्मेन्टका नाममा सुम्ला बस्नेगरि कुट्दै कपाल मुण्डन गरि दिएका हुन् । प्रिन्सिपलको कुटाइबाट १४ बर्षीय सविनको दुवै गोडाका पिँडुलामा सुम्ला उठेको छ । उनी हाल खुट्टा खोच्याएर हिँड्डुल गरि रहेका छन् ।

विद्यार्थी कुटिएको घटना भने गत कार्तिक २५ गतेको हो । घटना भएसँगै विद्यार्थी सो विद्यालय नगएपछि घटना बाहिर आएको हो । कार्तिक २५ गते स्कुलका प्रअ सरले छोरालाई सुम्लो नै उठ्ने गरी कुटेपछि बाबु स्कुल जान मानेन् अहिलेसम्म सुम्लो विसेक भएको छैन । घटना भएको एक साता पछि पनि सुम्लो जस्ताको तस्तै छ विसेक भएको छैन पिँडुलाको सम्लो देखाउँदै आमा लक्ष्मी श्रेष्ठले भनिन् ।

केहि जान्ला छोराले भनी सकि नसकी निजी विद्यालयमा हालेको तर केटाकेटीले भने उपहारमा सुम्लो र केश मुण्डन पाएको उनले गुनासो गरिन् ।

यसरी पिट्दा आफ्नो छोराको मानसिकतामा नै असर परेको उनले बताईन् ।
बाबुले सो विद्यालय जान नमानेपछि सम्झाई बुझाई नजिकैको सिपाडोलको गणश माविमा भर्न गरि दिएको उनी बताउँछिन् ।

विद्यालयका प्रअ खड्काले भने सुरुमा पनिस्मेन्ट नगरेको बताएपनि पछि भने सामान्य रुपमा लाठिले दुईपटक हानेको स्वीकारे । विद्यार्थी सबिनलाई सस्पेन्समा राखिएको बताउँदै उनले सबिनले बद्मासी गरेपछि तर्साउन लाठी लगाएको उनले बताए ।

पहिला त्यो बच्चाल अरुको घरमा चोरी पनि गरेको थियो, त्यो बेला मैले नै पुलिस रिपोर्ट नगर्न भनेँ, उनलाई लाष्ट वारेन्ट दिईएको थियो, सविन बदमासी गथ्र्यो, त्यो गर्दागदै पनि त्यो दिन उनले स्कुलमा बारुद पड्काए, ससाना विद्यार्थीलाई असर पर्ने गरी । त्यही कारण आफूले पनिस्मेन्ट गरेको प्रअ खड्काले भने ।

विद्यार्थी सबिन श्रेष्ठ भन्छन् :


सरले तिहारको विदा सकिएको भोलिपल्ट पिट्नुभयो । सरले होमवर्क दिनुभएको रहेछ । होमवर्क दिनुभएको दिन म एव्सेन्ट भएको थिँए । म विरामी भएर स्कुल गएको थिइँन् । कक्षाका सबजनालाई नि हान्नुभयो मलाई पनि हान्नुभयो । उहाँ हामीलाई पढाउनु हुन्न थियो तर एक्स्ट्रा होमवर्क दिनुहुन्थ्यो ।
त्यो दिन मलाई उहाँले आल्मुनियमको पाइपले हिर्काउनुभयो । त्योभन्दा अगाडी कपालै काटी दिनु भएको थियो । साथी बाहिर हेरेर बसेको रहेछ मैले पनि हेरेँ । बाहिर सर हुनुहँदो रहेछ । साथीलाई चाहिँ हान्नु मात्र भयो मलाई चाहिँ हान्नु पनि भयो कपाल पनि काट्दिनुभयो । कपाल काट्न पनि उहाँको मनलाग्दी पाराले हातमा जति कपाल आयो त्यति काटदिनुभयो । त्यसपटि प्रिन्सिपल सरले जा मेरो स्कुलमा पढ्नुपर्दैन भन्नु भयो म चुप लागेर बसेँ ।

आमा लक्ष्मी भन्छिन् ।
यो घटना कार्तिक २५ गतेको हो । बाबु हाँस्दै स्कुल गएको थियो । स्कुलको तीन तला माथिको कक्षा जसमा खापा पनि छैन पर्दा मात्र लगाएको छ । त्यही झ्यालबाट विद्यार्थीले हेरेको भरमा झ्याम कि झ्याम पिटेछन् ।

के हामीले दुःख गरेर कमाएको पैसा तिरेको नानीबाबु लाई पिटुन भनेर होत । हामी आफूले त पिट्न नसकेका सन्तानलाई यता बाट उता हुत्याएछन् यो ढोका बाट त्यो ढोका गरि कठालोमा समातेर लछार पछार गरि पिटेछन् बाबुले भन्दा पनि मेरो त मनै थाम्न सकिन् । बाबुको कठालो समातेर लछार पछार गरि पिटेछन् ।

साथै कपाल भुत्ल्याएर काट्दियो । त्यो पनि टाटे पाटे पारि दिएर । कुकुर तिहारको दिन काटेको कपाल उसले रिसरले टाटे पाग्रे पारि दिएछ ।
त्यो कुरा मैले बेलुका थाहा पाएँ । स्कुलबाट आयर बाबु सिरकमा गुटुमुटु परेर सुते । अँध्यारो मुख देखेर निधार छामे ज्वरो आएको रहेछ । अझ कपाल त चार तिर मोडिएको पो रहेछ टाटे पांग्रे पारेर ।

मैले यो सव देखे पछि प्रिन्सिपललाई फोन गरेँ फोन उठेन् । भोली पल्ट देखि बाबु स्कुल जानै मानेन् । अनी अन्तै विद्यालय पठाएँ ।
त्यो घटना पछि कोहीले पुलिसलाई रिपोर्ट गरौं भने, कोहीले महिला संघ लिएर जाउँ भने मलाई आँटै आएन । आफ्नो गल्ती लुकाउने प्रअले मेरो बच्चालाई चोरको आरोप पनि लगाए ।
आफूले खाइ नखाई गरेर केहि सिक्ला भनेर निजी विद्यालय पठाएको त कुटाउन पो रहेछ उनले गुनासो गरिन् ।
कुनै पनि बालबालिका रमाएर,खुसी भएर पढ्न पाउनुपर्ने उनको बालअधिकार हो तर त्यस किसिमको सजायँले बाल मस्तिस्कमा गहिरो असर गर्ने भएकाले बालबालिकालाई कुनै पनि शारिरीक र मानसिक सजायँ दिनु नहुने अभिभावक संध नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।
उनले संस्थागत विद्यालय सञ्चालन मापदण्ड र शिक्षा नियमावलीमा समेत विद्यार्थीलाई सजायँ दिन नपाउने प्रावधान उल्लेख भएको बताउँदै विद्यार्थीले कक्षाकोठामै सजायँ पाउनुलाई बालमैत्री वातावरण नीतिको खिल्ली उडाएको सँज्ञा दिए । उनले भने शिक्षा नियमावली २०५९ (संसोधनसहित) को परिच्छेद २२ दफा १३३ मा शिक्षकले पालना गर्नुपर्ने आचारसंहितामा शिक्षकले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन नहुने उल्लेख छ ।
गल्ती गर्ने विद्यार्थीलाई परामर्श गरी सम्झाउनुको सट्टा उल्टै कुट्ने पिट्न् गर्नु सजायँको भागीदारी बनाउनु गलत भएको उनी बताउँछन् । अधिकांश संस्थागत विद्यालयमा विभिन्न खालका सजायँ हुने गरेको बताउँदै कति सजायँहरु बाहिर नआउने भएका कारण संस्थागत विद्यालयको यो रोग नै भएको उनले बताए ।