मध्यपुर थिमिको आन्तरिक आयमा उल्लेखनीय वृद्धि, एक वर्षमै राजस्व करिब दोब्बर

0

भक्तपुर— मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय वृद्धि गर्दै एक वर्षमै करिब दोब्बर राजस्व संकलन गर्न सफल भएको छ।

नगरपालिकाको राजस्व प्रशासन शाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ राजस्व संकलन गरेको थियो। यस आधारमा एक वर्षमा ९३.४० प्रतिशत ले राजस्व वृद्धि भएको राजस्व प्रशासन शाखा प्रमुख रविन भक्त श्रेष्ठले जानकारी दिए।

गत आर्थिक वर्षमा नगरपालिकाको सबैभन्दा ठूलो आम्दानी घरबहाल करबाट भएको छ। यस शीर्षकमा १२ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २ करोड रुपैयाँ बढी हो।

त्यसैगरी नक्सा पास दस्तुर नगरपालिकाको दोस्रो ठूलो आम्दानीको स्रोत बनेको छ। यस शीर्षकमा १२ करोड ४८ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ करोड ४१ लाख ४२ हजार रुपैयाँ ले बढी हो।

सम्पत्ति कर तथा भूमिकर शीर्षकबाट १० करोड ६० लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड ८७ लाख ९३ हजार रुपैयाँ बढी हो।

त्यसैगरी अन्य सेवा तथा बिक्री शीर्षकबाट नगरपालिकाले ७ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही शीर्षकमा करिब १ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।

नगरपालिकाले व्यवसाय करबाट २ करोड ७४ लाख रुपैयाँ तथा प्रशासनिक दण्ड–जरिवानाबाट करिब २ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। प्रशासनिक दण्ड–जरिवाना शीर्षकको आम्दानी अघिल्लो वर्षको तुलनामा १ करोड ८८ लाख ८३ हजार रुपैयाँ ले वृद्धि भएको छ।

त्यसैगरी विज्ञापन करबाट करिब १ करोड २५ लाख रुपैयाँ तथा मनोरञ्जन करबाट ५० लाख रुपैयाँ राजस्व संकलन भएको राजस्व प्रशासन शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।

नगरपालिकाले कर प्रशासनलाई प्रभावकारी बनाउँदै करको दायरा विस्तार, राजस्व व्यवस्थापनमा सुधार तथा सेवामुखी प्रणाली अवलम्बन गरेपछि आन्तरिक आयमा उल्लेखनीय वृद्धि भएको नगरपालिकाको भनाइ छ।