माइभ्याली गोल्डकप : दार्जिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

343

इलाम : पाहुना टोली भारतको युनाइटेड दार्जिलिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै विभागीय टिम नेपाल पुलिस क्लब इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ। खेलको सुरुवातबाटै दबाब कायम राखेको पुलिसले छैटौँ मिनेटमा अग्रता कायम गर्‍यो।

पुलिसका खेलाडीलाई गोलरक्षक विनोद क्षेत्रीले डिएरिया बाहिर फाउल गरेपछि पाएको अवसरलाई सौजन्य याक्खा राईले सिधै जाली चुमाए। दोश्रो हाफमा समेत दबाब कामय राख्दै पुलिसले ८१ औँ मिनेटमा अग्रता दोब्बर बनायो। भरत शाहले डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुम्दा पुलिसले अग्रता दोब्बर बनाएको थियो।

दार्जिलिङका करन राईले सान्तवाना गोल फर्काए। गोलरक्षक रोशन खडकालाई विट गराउँदै राईले गोल गरेका थिए। निरन्त पुलिसको पोष्ट आक्रमण बुनेको दार्जिलिङको प्रहारले सही दिशा लिन नसक्दा क्वाटरफाइनलबाट बाहिरियो। दार्जिलिङका लेन्डुप भुटियाको क्रसलाई करन राईले गोल गर्न सकेनन्। देवान राई वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन्। देवानको प्रहार गोलरक्षक खड्काले बचाएका थिए। पुलिसले समेत केही राम्रा अवसरलाई गोल गर्न सकेन। पहिलो हाफमा वान भर्सेस वानको अवस्था पुलिसका सन्तोष हेमरनको प्रहार क्रस बारमा लागेर फकिएको थियो। पुलिसका सौजन्य याक्खा खेलको म्यान अफ दि म्याच चुनिदै नगद १० हजार प्राप्त गरे।

खेलपछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले ५ जना खेलाडी राष्ट्रिय टिमको क्लोज क्याम्पमा रहेका कारण जित निकाल्न मेहनत गर्नुपरेको बताए। जुनियर खेलाडीहरूलाई प्रमाणित गर्न अवसरको रुपमा रहेको प्रतियोगितामा अपेक्षाअनुरूप चल्न नसकेको उनले बताए। विपक्षी टिमको फिनिसिङ नहुँदा जित निस्किएको थापाले बताए।

यता दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले दोश्रो हाफअनुसार पहिलो हाफमा खेलाडी चल्न नसक्दा पराजित भएको बताए। उनले भारतमा खेल्ने बल र नेपालको बलको गुणस्तर फरक भएकाले अपेक्षिकृत रूपमा फिनिसिङ निकाल्न नसकिएको बताए। दार्जिलिङ आयोजक माइभ्याली फुटबल क्लबलाई इन्जुरी समयमा १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो। प्रतियोगिताअन्तर्गत दोश्रो क्वाटरफाइनल खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पाको सामना गर्नेछ।

बुटबलमा सम्पन्न २१ औ संस्करणको तिलोत्तमा गोल्डकपमा पुलिस क्लबसंग दार्जिलिङ २–० गोल अन्तरले पराजित बनेको थियो। पुलिस जारी सिजनमा उत्कृष्ट लयमा रहेको छ। सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपमा थ्रीस्टारलाई हराउँदै उपाधी जितेको पुलिस क्लब त्यसयताको तिलोत्तमा गोल्डकपको फाइनल पुगेको थियो।

Source link