मिर्गौला प्रत्यारोपण प्रकरण : अस्पतालका कर्मचारी जोगाएर परिवार विरुद्ध मुद्दा दायर

294

मानसिक रोगी रहेका युवकको मिर्गौला झुक्याएर अर्का व्यक्तिलाई प्रत्यारोपण गरिएको घटनामा प्रहरीले एकै परिवारका ४ जना विरुद्ध मुद्दा दायर गरेको छ। मोरङ कानेपोखरीका थर्कबहादुर बस्नेत, उनकी श्रीमती, छोरा र बुहारी विरुद्ध प्रहरीले मानव बेचबिखन मुद्दा दायर गरेको हो।

थर्कबहादुरलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ। अन्य तीन जना फरार छन्।

काभ्रे नालाका कुमार गिरी आफ्नो छोरा भएको भन्दै नक्कली कागजपत्र देखाएर उनको मिर्गौला थर्कबहादुरलाई गत बैसाख १० गते भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। जुन घटनामा परिवारका ४ सदस्यको मिलेमतो देखिएपछि मुद्दा दायर गरिएको भक्तपुरका एसपी हिमालय श्रेष्ठले बताए।

गिरी परिवारले कुमारको पेट चिरिएको देखेपछि उनलाई झुक्याएर मिर्गौला निकालिएको खुलेको थियो। पीडितका आफन्तले उजुरी गरेपछि थर्कबहादुरलाई प्रहरीले जेठ दोस्रो साता अस्पतालबाटै पक्राउ गरेको थियो।

अनुसन्धानमा अस्पतालले पनि नाता सम्बन्धी प्रमाणपत्रको छानबिन नगरी मिर्गौला प्रत्यारोपण गरेको खुलेको थियो। तर, अस्पतालका कर्मचारी कारबाहीको दायरामा परेका छैनन्।

भक्तपुरका एसपी श्रेष्ठ भने कानुनमा अस्पतालले पेश गरिएका कागजपत्र परीक्षण गर्नुपर्ने प्रावधान नभएकाले अस्पतालका कर्मचारीलाई मुद्दा नचलेको बताए। यद्यपि थप खुलेमा मुद्दा चल्ने उनी बताउँछन्।

मिर्गौला दिने व्यक्तिको मानसिक परीक्षण समेत गर्नुपर्ने कानुनी प्रावधान छ। तर, अस्पतालले कुमारको मानसिक परीक्षण नै गरेको थिएन।  अस्पतालको चरम लापरवाही देखिएकाले मिलेमतोको प्रशस्त आधार देखिए पनि दबावका कारण अस्पतालका कर्मचारीमाथि मुद्दा दायर हुन नसकेको स्रोत बताउँछ।

यसरी नक्कली नाता प्रमाणपत्रका आधारमा प्रत्यारोपण केन्द्रमा धेरै व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको हुनसक्ने आशंका गरिएको छ।

जाहेरी दिने कुमार गिरीलाई समेत प्रहरीले प्रतिबादी बनाएर मुद्दा दायर गरेकोमा उनलाई अदालतले साधारण तारेखमा छोडेको छ।