सुदूरपश्चिमका मुख्यमन्त्री शाह अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

0

धनगढी :  मुख्यमन्त्री कमल बहादुर शाहले बर्खास्त गरेलगत्तै नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए।

योसँगै मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार थियो। ५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्छन्।

यसअघि कांग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्य गरी २९ जनाको बहुमत थियो। ११ प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। ती दुई दलबाहेक पार्टी एकीकरण पछि नेकपा २२ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ। नेकपाका एक जना (दीर्घ बहादुर सोडारी) निलम्बनमा छन् भने एक जना स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर तारा प्रसाद जोशी संघीय सांसद निर्वाचित भएपछि अहिले प्रदेश सभामा ५१ सदस्य मौजुद छन्।

मुख्यमन्त्री शाहले एमालेका ४ मन्त्री भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई आजै बर्खास्त गरेका थिए।

बजेटलाई लिएर सत्तारुढ दुई दलबीच खटपट चलिरहेको थियो। एमालेले आफैं सहभागी सरकारले ल्याएको बजेट अस्वीकार गरेका थिए। एमाले सांसदहरूले खर्च कटौतीको प्रस्तावसमेत दर्ता गराएका थिए।

यससँगै सुदूरपश्चिम प्रदेश सरकार नयाँ सत्ता समीकरणअनुसार पुनर्गठन हुने भएको छ। सरकार पुनर्गठनबारे मुख्यमन्त्री कार्यालयले छलफल अघि बढाएको जनाएको छ।