भक्तपुर । विद्यालय भर्ना भएका विद्यार्थीलाई टिकाउनका लागि भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
चाँगुनारायण नगरपालिकाबाट आर्थिक वर्ष २०७४ को लागि लक्षित वर्गका लागि विनियोजित रकमबाट विद्यार्थीको पढाइका लागि सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको चाँगुनारायण नपा ९ का वडाध्यक्ष गणेश त्यातले बताए । उनले शैक्षिक सामग्रीअन्तर्गत कापी, पेन्सिल, सार्पनर, इरेजर, ज्यामिति बक्स, क्याल्कुलेटर, डट्पेन, मैन कलर, पे्रmब्रिक झोला वितरण गरिएको वडाध्यक्ष त्यातले बताए ।
शैक्षिक सामग्री पाएपछि दलित विद्यार्थीहरु निक्कै खुसी भएका छन् । आफ्ना सन्तानले शैक्षिक सामग्री पाएपछि पढाइका लागि निक्कै सहयोग पुगेको विद्यार्थीका अभिभावकले बताए ।
कार्यक्रम संयोजक एवं दलित महिला सदस्य सुमित्रा दर्जीले ताथलीका ५२ विद्यार्थीलाई सामग्री प्रदान गरिएको बताइन् ।






































