३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस

607

२०३० सम्म ५० हजार वालवालिकासम्म पुग्ने लक्ष्य

काठमाडौं ।
अभिभावक गुमाएका विश्वका हजारौं वालवालिकालाई न्यानो माया र आश्रय सहित उचित शिक्षादिक्षाको लागि मायालु घर अर्थात एसओएस वालग्राम स्थापना गर्ने स्वर्गीय हर्मन माइनरलाई स्मरण गर्दै उनको जन्मजयन्ती तथा ३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

२३ जुन सन् १९१९ मा अष्ट्रियामा जन्मेका हर्मन माइनरको २५ अप्रिल १९८६ मा निधन भएको थियो । उनको निधनपछिको वर्षदेखि संसारभरी हर्मन माइनर जन्मजयन्ती तथा एसओएस दिवस मनाउन थालिएको हो । संसारका १३४ मुलुकमा रहेका एसओएस वालग्राममा अहिलेपनि हजारौं वालवालिकाले आश्रय लिइरहेका छन् ।

दोस्रो विश्वयुद्धमा बाबुआमा गुमाएका सयौं वालवालिकाको संरक्षणका लागि हर्मन माइनरले एसओएस वालग्रामको अवधारणा अघि सार्दै अष्ट्रियाको इम्स्टमा पहिलो वालग्राम स्थापना गरेका थिए ।

यसै अवसरमा एसओएस वालग्राम सानोठिमीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र पुर्वमन्त्री तथा सांसद महेश बस्नेतले मुलुक संघीयतामा गईसकेको वर्तमान अवस्थामा एसओएस वालग्रामलाई आत्मनिर्भर बनाउन नेपाल सरकारले नै आवश्यक बजेट विनियोजन गर्ने बताए । हाल वालग्रामको ९५ प्रतिशत बजेट अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ ।

कार्यक्रममा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले वालग्रामले हालसम्म गरेका प्रगतीबारे जानकारी दिँदै सन् २०२२ सम्म नेपालका ३० हजार वालवालिकासम्म र सन् २०३० सम्म ५० हजार वालवालिकासम्म वालग्रामको सेवा विस्तार गरिने बताए । शर्माका अनुसार वालग्रामले प्रत्यक्ष र अप्रत्यक्षरुपमा मुलुकभरका २६ हजार ७७३ वालवालिका समक्ष पुगिसकेको छ ।
अभिभावक वीहिन वालवालिका हुन या अभिभावक गुमाउन सक्ने जोखिममा रहेका र एकल अभिभावक भएका वालवालिकादेखि निम्न आय भएका अभिभावकका वालवालिकाका लागि वालग्रामले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ ।

यसै अवसरमा एसओएस वालग्राम जोरपाटीले स्थानीय समाजसेवीहरुलाई सहभागी गराई स्वर्गीय हर्मन माइनरको योगदानबारे जानकारी गराएको जोरपाटीका आयोजना निर्देशक रविन नेपालीले बताए ।

एसओएस युवालय कोटेश्वर अन्तर्गतको ‘हेल्पिंग ह्याण्डस युथ क्लव’को आयोजनामा युवालय हातामा भएको रक्तदानमा वालग्रामको युवालय र बुद्धनगर छात्रावासका १८ वर्ष उमेर पुगेका ४५ जना छोराछोरीले रक्तदान गरेका थिए । सहभागी रक्तदातालाई युवालयका आयोजना निर्देशक कविन्द्र शाहले प्रमाणपत्र वितरण गरे ।

यसैविच वालग्रामको सानोठिमी, जोरपाटीलगायतका १० वटै वालग्रामका घरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि हर्मन माइनर जन्मजयन्ती तथा अन्तराष्ट्रिय एसओएस दिवस मनाइएको छ ।