भक्तपुर । नेसनल प्याब्सन भक्तपुरको आयोजनामा सञ्चालित अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ चाँगुनारायण नगरपालिका–८ स्थित आरक्षण नेसनल स्कुलमा सम्पन्न भएको छ। नेसनल प्याब्सन भक्तपुरमा आबद्ध विद्यालयका विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
प्रतियोगिता दुई तहमा सञ्चालन गरिएको थियो। माध्यमिक तहअन्तर्गत भएको प्रतिस्पर्धामा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, मदरल्याण्ड स्कुलकी रोहिणी बस्नेत द्वितीय, डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ तृतीय तथा पाथीभरा एकेडेमीका कृस्तफ थापा मगर सान्त्वना भएका छन्।
त्यसैगरी आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ प्रथम, संस्कार गुरुकुलकी विदुशी ढकाल द्वितीय, मदरल्याण्ड स्कुलका न्युरोन लोहोला तृतीय तथा नगरकोट सनराइज स्कुलका दिवस नगरकोटी सान्त्वना भएका छन्। विजेता विद्यार्थीलाई कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आरक्षण नेसनल स्कुलकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष एवं नगर प्रवक्ता जनक खत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै खत्रीले नेसनल प्याब्सनले आयोजना गर्दै आएका यस्ता अन्तरविद्यालयीय प्रतियोगिताले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक आरक्षण नेसनल स्कुलप्रति आभार व्यक्त गर्दै विजेता तथा सहभागी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले विद्यालय तहबाटै विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
प्रतियोगिताले विद्यार्थीमा रहेको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै कला तथा संगीतप्रतिको रुचि विकास गर्न सहयोग पुर्याउने आयोजकले जनाएको छ। विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिसँगै अतिरिक्त तथा सिर्जनात्मक क्षेत्रमा समेत अघि बढाउन प्रतियोगिता उपयोगी हुने कार्यक्रम संयोजक सरोज केसीले बताउनुभयो।
नेसनल प्याब्सन भक्तपुरले विद्यार्थीको प्रतिभा प्रस्फुटन र अन्तरविद्यालयीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। एकल गायन प्रतियोगिताले पनि विद्यार्थीको सांगीतिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।








































