भक्तपुर । भक्तपुर नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रमा छाडा छोडिएका कुकुरहरुलाई बन्ध्याकरण तथा रेविज रोगविरुद्ध खोप अभियान संचालन गरेको छ ।
शुक्रबार विहान दरवार क्षेत्रबाट शुरु गरिएको उक्तअभियान अन्तर्गत १४ वटा साना ठूला कुकुरहरुलाई खोप दिएर बन्ध्याकरणको लागि गःपलीस्थित पशु स्वास्थ्य क्लिनिकमा लगिएको छ ।
लगिएका कुकुरहरुलाई पशु चिकित्सक डा. एकता पाण्डे र डा. आशिष राई र प्राविधिक मुकेश तुल्सी बाख्यो र बुद्धिराम रेग्मीको टोलीले उपचार गर्ने र उपचारपछि आजै समातिएकै स्थानमा छोडिने नगरपालिका स्रोतले बताएको छ ।
जथाभावी छाडा छोडिएका कुकुरको टोकाइले मानवीय क्षति नहोस् भनेर तालिम प्राप्त पशुविज्ञहरुको टोली तथा नगरपालिकाका ९ जनाकर्मचारीहरुको सहयोगमा कुकुरहरुलाई समातिएको हो ।
नगरपालिकालाई रेविज रोग मुक्त बनाउने लक्ष्य सहित उक्त अभियान संचालन गरिएको हो ।
नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतका जनप्रतिनिधिहरुले विहान दरवार क्षेत्रमा कुकुरहरुलाई खोप लगाउने कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
कुकुरहरुले नगरको रात्रीकालीन सुरक्षा दिइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले नगरमा अत्यधिक संख्यामा देखिएका कुकुरहरुलाई रेविज रोगबाट मुक्त गर्न तथा कुकुरको संख्या अनपेक्षित रुपमा बढ्नबाट रोक्न नगरपालिकाले बन्ध्याकरण तथा खोप अभियान संचालन गरेको प्रष्ट पार्नुभयो ।
‘यो एउटा सकारात्मक पहल हो र यसमा दक्ष पशु चिकित्सकहरु संलग्न छन्’, उहाँले भन्नुभयो । उहाँले यो अभियान नगरका सबै वडाका टोलहरुमा तथा नयाँ बस्तीहरुमा समेत संचालन गर्ने बताउनुभयो ।
पछिल्लो समयमा नगरका विभिन्न स्थानहरुमा कुकुरको टोकाइबाट नगरबासीहरु पीडित भएको गुनासोहरु आइरहेको सन्दर्भमा नगरपालिकाले संचालन गरेको यो अभियाननिकै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
पशु स्वास्थ्य र मानवीय स्वास्थ्य दुवैलाई ध्यानमा राखेर कार्यक्रम अघि बढाइएको कार्यक्रम संयोजक तथा भनपा ३ नं. वडाका अध्यक्ष राजकृष्ण गोराले बताउनुभयो ।
उहाँले रेविज रोगबारे सर्वसाधारणलाई जनचेतना दिने र खोप लगाइएका कुकुरहरुको पहिचान गर्न सजिलो होस् भनेर चित्र सहितका पर्चा र पोष्टरहरु ठाउँ ठाउँमा राख्नलागिएको उल्लेखगर्नुभयो ।
अभियानमा संलग्न डा. पाण्डेले समातिएका कुकुरहरुलाई आधुनिक सुविधा सम्पन्न क्लिनिकमा बन्ध्याकरण सहित उपचार गरिने बताउनुभयो ।
‘एउटा कुकुरलाई सामान्यअपरेशन गरेर बन्ध्याकरण गर्न करिब ४५ मिनेट लाग्छ’, उहाँले भन्नुभयो ।
खोप र बन्ध्याकरण गरिएका कुकुरहरुलाई सर्वसाधारणले चिन्न सजिलो बनाउन घाँटीमा सुन्तला रंगको पेटी बाँध्ने तथा दाहिने कानको थोरै भाग काटिने उहाँले जानकारी दिनुभयो ।
नगरभित्रका कुकुरहरुलाई निरोगी बनाउने तथा संख्यालाई व्यवस्थित गर्ने कार्यमा भक्तपुर नगरपालिकाले अगुवाइ गरेकोमा खुशी व्यक्तगर्दै अभियानका अभियन्ता सन्दिप जोशीले नगरपालिकाले घरपालुवा कुकुरहरुको तथ्यांक राख्न सुझाव दिनुभयो ।
नगरबासीहरुले आप्mनो जग्गा, पसल, व्यवसाय र यातायातको साधन दर्ता गराए जस्तै घरपालुवा पशुहरुको दर्ता गर्न आवश्यक रहेको उहाँको कथन थियो ।
कुकुर धनीहरुलाई नगरपालिकाकै अगुवाइमा समय समयमा कुकुरको स्वास्थ्य परीक्षण गराउन तथा कुकुरबाट सर्न सक्ने विभिन्न रोगहरुबाट बच्ने उपायबारे अभिमुखीकरण गराउन सके थपप्रभावकारी हुने अर्का अभियन्ता सुरेश कवांले बताउनुभयो ।
कुकुर रहरले मात्रपाल्ने नभई कुकुरको पोषण, खोप, व्यायाम, तालिम आदिको बारेमा पनि सचेत हुनुपर्ने पशु चिकित्सक डा. प्रणव जोशीको भनाइथियो ।
पर्याप्त ज्ञानको अभावले कुकुर पाल्दा अनावश्यक आर्थिक बोझ बढ्ने उल्लेख गर्दै कुकुरलाई गहुँ, जौ र मकैका परिकारहरु नखुवाउन उहाँले सल्लाह दिनुभयो ।







































