काठमाडौं । व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक समिति सदस्य ४१ वर्षीया सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी सञ्चालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन्।
सीआईबीका अनुसार व्यवसायी भट्टसँग जोडिएका कम्पनीमा भएको भनिएको शंकास्पद लगानी तथा शेयर कारोबार र बीमा क्षेत्रमा भएका भनिएका अनियमित गतिविधिको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पक्राउ परेकाहरूको कारोबार यसअघि पक्राउ परेका दीपक भट्टसँग जोडिएको देखिएको छ। अनुसन्धानका क्रममा उनीहरूविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतका कसुर आकर्षित हुने देखिएको उनले बताएका छन्।
प्रहरीका अनुसार पौडेलमाथि धितोपत्रसम्बन्धी ऐन र बीमा ऐन दुवैअन्तर्गत अनुसन्धान भइरहेको छ भने महर्जनमाथि धितोपत्रसम्बन्धी ऐन तथा मालाकार र श्रेष्ठमाथि बीमा ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको सीआईबीले जनाएको छ। उनीहरूमाथि शंकास्पद लगानी, शेयर कारोबार तथा बीमा क्षेत्रसँग सम्बन्धित कारोबारबारे थप अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ तथा प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कम्पनीहरूको भूमिकामाथि समेत अनुसन्धान जारी रहेको छ।








































