प्रहरीको सेप्टीपीन अभियान यात्रुको प्रश्न ‘भीडमा महिला यात्रुलाई छोइन्न त?’

324

बलराम प्यासी
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सामुदायीक प्रहरी सेवा कोटेश्वरले कोटेश्वर चोकमा आयोजना गरेको सेप्टीपीन अभियानमा अधिकाँश यात्रुको जिज्ञासा हुने गरेको छ—‘सँधै भीडभाड भएको गाडीमा चढ्नुपर्छ, अनि महिला यात्रुलाई छोइन्न त?’ ‘सार्वजनिक यातायात चढेर हेर्नुस अनि मात्रै यस्ता कुरा सिकाउनुस् । ’
महानगरीय ट्राफिक प्रहरी महाशाखा र सामुदायीक प्रहरी सेवा कोटेश्वरले कोटेश्वर चोकमा आयोजना गरेको जनचेतनामूलक सेप्टीपिन अभियानमा सहभागी भएका यात्रुको प्रश्नमाथि प्रहरीलाई जवाफ दिन हम्मे हम्मे परेको थियो । ‘प्रहरीले वास्तविक धरातल नबुझि सतहमा जनचेतना फैलाउँछ, यात्रुको पीडा आफ्नै ठाउँमा हुन्छ’ यात्रु रमेश तामांगले गुनासो गरे ।
‘सास फेर्न नसक्ने गरि भीडभाडयुक्त टेम्पो, माइक्रो र बस चढ्नुपर्छ, त्यतिखेर कसले कसलाई कसरी छोयो भनेर कसले हेर्न भ्याउनु ? कसरी गाडी चढ्ने मात्रै ध्यान हुन्छ,’—एकजना महिला यात्रुले भनीन ।
सार्वजनिक यातायातका साधनमा सीमित मात्रै यात्रु चढ्ने अनि एक यात्रु र अर्काे यात्रुवीचको दुरी कायम हुने भए पो प्रहरीको ‘सेप्टीपिन अभियान’ सार्थक हुन्थ्यो त । गाडीभित्र रहेका यात्रुले भन्दा सोही गाडीका सवारी चालक र सहचालकले नै प्रायःजसो किशोरी, युवती र महिला यात्रुमाथि ‘नराम्रो’ नजरले हेर्ने गरेको महिला यात्रुको गुनासो थियो ।
सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा पुरुष यात्रुले यौन दुव्र्यवहारको उद्धेश्य सहित महिला यात्रुलाई छोएमा या उनीहरुमाथि गलत नजर राखेमा तत्काल कारवाही गर्ने उद्धेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही महिनाअघिदेखि सेप्टीपीन अभियान शुरु गरेको हो ।
सार्वजनिक यातायातमा किशोरी, युवती र महिलामाथि हुनसक्ने यौनजन्य दुव्र्यवहारलाई न्यूनिकरण गरी दोषिमाथि तत्काल कारवाही गर्न सघाउने उद्धेश्यले सेप्टीपिन अभियान शुरु गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सामुदायीक प्रहरी सेवा शाखाका प्रमुख, प्रहरी नायव उपरिक्षक सुरेन्द्रप्रसाद भट्टले बताए ।
यसअवधिमा सामुदायीक प्रहरीको सहयोगमा सो महाशाखाले विभिन्न स्थानमा पर्चापम्ल्ेट वाँडेर होस या माइकिंग गरेर सार्वजनिक यातायातमा चढ्ने पुरुष यात्रुलाई यसबारे सचेत गराउँदै आएको छ भने महिला यात्रुलाई ‘यस्ता दुव्र्यवहारका घटना भएमा’ तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गरेको छ ।
सार्वजनिक यातायातका साधनको समस्या आफ्नै ठाउँमा भएतापनि नेपाल प्रहरीको सेप्टीपिन अभियानलाई सामुदायीक प्रहरी सेवाले भने चोकचोकमा जनचेतनामूलक कार्यक्रम मार्फत जानकारी गराईराखेको सामुदायीक प्रहरी सेवा कोटेश्वरका इन्चार्ज राजेन्द्र पुजाराले बताए ।
‘शहरका सडकमा जेव्राक्रस नै नराखी जथाभावी बाटो काटेको भन्दै सर्वसाधारणलाई समातेर ठाउँको ठाउँ दुईसय रुपैया जरिवना गराउने महानगरीय ट्राफिक प्रहरी महाशाखाको विगतको योजना तुहिएजस्तै सार्वजनिक यातायातभित्रका वेथिति नहटाई सेप्टीपीन अभियान शुरु गर्नु कत्तिको उपयुक्त हो?’ सर्वसाधारण प्रश्न गर्छन ।