युग परिवर्तनका लागि मन बदल्नुपर्छ : सतपालजी महाराज

255

झापा / नेपाल मानव धर्मका प्रणेता सद्गुरूदेव श्री सतपालजी महाराजले युग परिवर्तनका लागि मानिसको मन बदल्नुपर्ने बताउनुभएको छ । झापाको धुलाबारीमा शुक्रवार सम्पन्न ‘विराट सत्संग समारोह २०७५’ लाई सम्बोधन गर्दै सद्गुरूदेव महाराजले ढुंगा, माटो, पानी बदलेर युग परिवर्तन गर्न नसकिने बताउनुभयो । ‘युग परिवर्तनका लागि ढुंगा, माटो, पानी बदल्नु पर्दैन, युग परिवर्तनका लागि मानिसको मनलाई बदल्नुपर्छ,’ उहाँले भन्नुभयो ।

बिहीवारदेखि धुलाबारीमा शुरू भएको समारोहमा उहाँले सन्त तुलसीदासको भनाइ उदृत गर्दै अध्यात्ममा सन्त समागम र हरिकथा महत्वपूर्ण रहेको बताउनुभयो । ‘सत्संगमा आउँदा हाम्रो मनमा धेरै प्रश्न हुन सक्छन् । तर निर्मल मनले सत्संग सुनेमा सबै शंकाको समाधान हुन्छ,’ उहाँले भन्नुभयो, ‘सत्संगको हाम्रो विवेक जागृत गर्छ ।’ मनलाई बदल्न र नियन्त्रण गर्न गाह्रो भएपनि अभ्यास र वैराग्यबाट मनलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । ‘महाभारतको युद्ध हुँदा भगवान् कृष्णले अर्जुनको माध्यमबाट मानवलाई ज्ञान दिएका छन्,’ उहाँले भन्नुभयो, ‘अध्यात्म बुझ्न आध्यमिक पुरुषको शरणमा जानुपर्छ, जसलाई सद्गुरू भनिन्छ ।’

अध्यात्म क्षेत्रमा भगवानलाई देख्न तेस्रो आँखा खोल्नुपर्ने उहाँले बताउनुभयो । ‘भौतिक आँखाले भौतिक चिज देखिन्छन्, भगवान् देख्न दिव्य चक्षु चाहिन्छ भनेर भगवान कृष्णले भन्नुभएको छ ।’ धर्म र भक्ति गर्न धनको आवश्यकता नरहेको उहाँले बताउनुभयो । ‘भक्तिमा धनको जरुरी छैन, साधना र संकल्पको जरुरत छ । गरीबले भक्ति गरेमा मोक्ष प्राप्त गर्न सक्छन्,’ उहाँले भन्नुभयो । आत्म शान्तिका लागि मनलाई नियन्त्रण गर्नुपर्ने सद्गुरूदेव महाराजले बताउनुभयो । ‘हामी मनको इशारामा विषयभोगको स्वाद लिनमा भुलेका छौं । तर आत्मज्ञानबाट मनलाई नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘कृष्णले अर्जुनलाई आत्मज्ञान दिँदै यस विद्यालाई जानेपछि केही जान्न बाँकी रहँदैन, यो राजविद्या हो भन्नुभएको छ ।’

शरीरमा आत्मा श्रेष्ठ भएझैं आत्माको ज्ञान सबैभन्दा श्रेष्ठ ज्ञान रहेको उहाँले बताउनुभयो । समारोह आयोजक नेपाल मानव धर्म सेवा समितिले आत्मज्ञान प्रचारप्रसार गर्ने गरेको छ । पालसहित भारत र भुटानबाट आएका भक्तजनसहित समारोहमा करीब १ लाख ५० हजारले सहभागिता जनाएको समितिको मेची आश्रमका सचिव ईन्द्र प्रधानले बताउनुभयो । समारोहमा सद्गुरूदेव महाराज, अमृता माताजी, श्रद्धेय विभूजी महाराज, सुयशजी महराज लगायत देशविदेशबाट आएका सन्तमहात्माको सहभागिता रहेको थियो । समारोहमा सत्संग प्रवचन, भजनकीर्तन प्रस्तुत भएका थिए । सामाजिक सद्भाव र आध्यात्मिक चेतना अभिबृद्धिका लागि समारोह आयोजना गरिएको आयोजक मूल समितिका संयोजक महात्मा चमेली वाईजीले बताउनुभयो ।

Purbeli TV

Source link