Home शिक्षा संविधान भन्छ शिक्षा निशुल्क तर कक्षा एकमा महिनाको डेढ लाख
सांसदको सोधाई : ‘महिनामा डेढ लाखलिने स्कुल कस्तो होला?’
भक्तपुर । संघीय संसदका सांसद एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षामा व्यापारीकरण बढिरहेको बताएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुनेपाटीमा रहेको साइनिङ इंगलिश स्कुलको २६ औं वार्षिकोत्सवमा सो कुरा बताएका हुन् । वार्षिकोत्सवको अवसरमा आयोजित अभिभावक सम्मान, शिक्षक सम्मान, विद्यार्थी सम्मानलाई सम्बोधन गर्दैै उनले संविधानमा कक्षा १२ सम्मको शिक्षानिःशुल्कको प्रावधान भएपनि विद्यार्थी महंगो शिक्षालिन बाध्य भएको बताए ।

उनले काठमाडौं उपत्यका भित्र र केही मुख्य सहरमा खुलेका महंगा निजी विद्यालय कै कारण शिक्षा महंगो हुँदै गएको उल्लेख गर्दै ती विद्यालयहरुलाई नियन्त्रण गर्नुपर्ने संकेत गर्दै भने, ‘महिनामा एक लाख पचास हजार लिने स्कुलपनि छन्, त्यस्ता स्कुलहरु कस्तो होला? को पढ्छ होला?’
उनले बाल बालिकालाई हँसिलो बनाउनकालागि विद्यालयले नै भूमिका खेल्नु पर्नेमा जोड दिँदै अझ पनि बाल मैत्री विद्यालयको खाँचो औंल्याए ।‘अझपनि राम्रो विद्यालयको आवश्यकता छ, त्यो राम्रो विद्यालयले नयाँ पुस्तालाई अघि बढाउन सजिलो हुन्छ ।’
कार्यक्रममा उनले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु मध्ये सरस्वती पुरी र हिमकुमार थापलाई असल अभिभावक सम्मान, शिक्षकद्वय श्रीकृष्ण त्यात र लक्ष्मी फोँजूलाई दीर्घ सेवा सम्मानबाट सम्मान गरेका थिए । सो अवसरमा विद्यालयले अनुशासित विद्यार्थी, सफा विद्यार्थी, नियमित विद्यार्थी घोषणा गरी पुरस्कृत गरेको थियो । सांसद सुवालले विद्यार्थीलाई देशको अवस्था बारेमा जानकारी दिन शिक्षक सँग अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष न्हुच्छे भक्त फोँजूले विद्यालय शिक्षालाई सुधार्नका लागि नगरपालिकाले विशेष कार्यक्रमको आवश्यकता रहेको बताए भने एनप्याब्सन भक्तपुरका अध्यक्ष जीबी खड्काले निजी विद्यालयले शैक्षिक क्षेत्रको उन्नयनकालागि पुर्याएको योगदानको चर्चा गरे ।
सोही अवसरमा चाँगुनारायण नगरपालिकाको शिक्षा शाखा प्रमुख माधव पोखरेलले नगरपालिकाले शिक्षामा गरिरहेको कार्यक्रम र त्यसले पारेको प्रभाव बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण सिँह महतले विद्यालयले शैक्षिक सत्र २०७५ मा गरेका विभिन्न अतिरिक्त क्रियाकलाप बारेमा जानकारी दिए । उनले विद्यालयले नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा विद्यालय प्रथम, हस्तेखन, सरसफाइमा सहभागिता, कविता गोष्ठी, खेल मेला, रक्तदान लगायतका कार्यक्रमहरु गरिएको उल्लेख गर्दै विद्यार्थी र विद्यालयको क्षमता विकास मात्र नभएर शिक्षकको शिक्षण सीपकालागि पनि लगानी गरेको बताए ।
उनले विद्यालय सुधारका लागि प्रणाली, पारदर्शिता, विज्ञता र इमान्दारिताको खाँचो रहेकोमा जोड दिए । सोही कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुले विद्यालयले विभिन्न आरोह, अवरोह पार गरेको सम्झँदै गुणस्तरीय शिक्षाको लागि शिक्षक र अभिभावकको भूमिका उल्लेखनीय हुने बताए ।
Related