पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु

157

पाँचथर । पाँचथरमा ३ वटा कोरिडोर सडक निर्माण कार्य शुरु भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा कोरिडोर, मध्य क्षेत्रलाई समेट्न निवु कोरिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ कोरिडोर सडक निर्माण शुरु भएको हो । तीन वटै कोरिडोर पहाडै–पहाड निर्माण गरिएका अन्य सडकहरुलाई समेट्दै तमोर कोरिडोर सडकमा जोडिनेछन् । तमोर कोरिडोर धनकुटाको मुलघाटबाट पाँचथर–ताप्लेजुङ हुँदै नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय सडक हो । हालसम्म पहाडै–पहाड सडक विस्तार गर्ने गरिएकामा तमोर नदीको किनार हुँदै तमोर कोरिडोर निर्माण अघि बढेपछि जिल्लाभित्र पर्ने खोलाका किनार हुँदै द्रुतमार्गका रूपमा कोरिडोर सडक निर्माण शुरु गरिएको हो ।

यी तीन वटै कोरिडोरहरु प्रदेश नं १ सरकारले विशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका हुन् । पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार गत आर्थिक वर्ष २०६७÷०७७ मा तीन वटै कोरिडोरमा समान रु ८७ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट कोरिडोरहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा ट्र्याक निर्माण कार्य शुरु भएको पूर्वाधार विकास कार्यालय पाँचथरका निमित्त प्रमुख ललितकुमार चौधरीले जानकारी दिए । चालु आर्थिक वर्षका लागि तीन वटै कोरिडोरका लागि समान रु एक करोड १० लाख बजेट छुट्टिएको र कार्यान्वयनको अख्तियारी प्राप्त हुन लागेको निमित्त प्रमुख चौधरीले बताए ।

गत आ।मा हेवा कोरिडोरको २.७६ किमी, निवु कोरिडोरको २.६ किमी र नावा कोरिडोरको ३.९ किमी ट्र्याक निर्माण सम्पन्न भएको छ । यस्तै हेवा कोरिडोरको २१ किमी र नावा तथा निवु कोरिडोरको समान २३ किमीको डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कोरिडोर सडकहरुको चौडाइ आठ मिटर हुनेछ । नावा कोरिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई कोरिडोरको डीपीआर चालु आवमा मात्रै पूरा हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।