छात्रा वर्ग कार्यक्रमको समापनमा दौड तथा सम्मान आयोजना

590

काठमाडौं : नारी सम्मान, सुरक्षा र स्वालम्बनका लागि प्राज्ञिक नेपाल विद्यार्थी परिषद नेपालले छात्रा दौड तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्धारा आयोजित ३ दिने राष्ट्रिय छात्रा वर्ग कार्यक्रमको समापनका अवसरमा शनिबार दौड तथा सम्मान आयोजना गरिएको हो।

नारी सम्मान, सुरक्षा र स्वाबलम्बनका लागि छात्रा दौड प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका उप–प्रमुख हरि प्रभा खड्गीले दौड प्रतियोगितामा प्रथमु हुने चण्डिका मगर, दोस्रो हुने औशिला गुरुङ, तेस्रो हुने धनमाला तामाङ र चौथो हुने आयूषा नगरकोटी पुरस्कार वितरण गरिन्।

त्यस अवसरमा प्रमुख अतिथि एवं पाटन उच्च अदालतका माननीय न्यायाधीश नीता दिक्षितले वरिष्ठ कलाकार लक्ष्मी भुषाल, प्रहरी उपरीक्षक किरण बज्राचार्य, १३८ औं पटक रक्तदान गर्ने नीता घिरैया, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका सह–प्रध्यापक सुशन आचार्य, सामाजिक व्यक्तित्व, उद्यमी तथा नमुना एकिकृत विकास परिषद् रूपन्देहीका अध्यक्ष ज्ञानु पौडेल लगायतलाई सम्मान गरिन्।

३ दिने राष्ट्रिय छात्रा वर्ग कार्यक्रममा ८० भन्दा बढी सहभागी तीन दिवसीय आवासीय कार्यक्रम कमलपोखरीस्थित अग्रवाल भवनमा सञ्चालन गरिएको थियो।

कार्यक्रममा देशभरबाट राजधानी आएका परिषद्का ८० भन्दा धेरै छात्रा प्रतिनिधि सहभागी थिए। कार्यक्रमका सहभागीहरुलाई दलीय राजनीतिभन्दा माथि रहेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र मौलिक परम्पराको रक्षा गर्नका लागि डाक्टर रमेश ढुंगेलले प्रशिक्षण दिएका थिए।