काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आइतवारदेखि शुरू भएको नेपाल पत्रकार महासङ्घको २५औं महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगतको अत्यन्त महत्वपूर्ण योगदान रहेको र अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिए ।
नेपालमा भएका मिडिया धेरै भएको विषयमा उनले भने, ‘नेपालमा मिडिया धेरै छन, ती आर्थिक रुपमा कमजोर छन, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु ।” अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताए । उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
पत्रकार पुरस्कृत
प्रधानमन्त्री देउवाले पत्रकार महासङ्घले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरेका छन् । पुरस्कारको राशि एक लाख रुपैयाँ छ । त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही रू. ५० हजार छ । त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ पुष्कर थापा (मरणोपरान्त) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रू. २५ हजार छ ।
कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा (सुनसरी), अशोक रौनियार (धनुषा), वसन्त पोखरेल (रूपन्देही) र रामबहादुर केसी (सिन्धुपाल्चोक) लगायत १२ जनालाई प्रदान गरिएको छ ।
सोही अवसरमा पत्रकार महासङ्घ भारत शाखाले रू. ४० हजार र पत्रकार महासङ्घ काभ्रे शाखाले रू. ५० हजार बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
नयाँ नेतृत्वका लागि प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
यस पटकदेखि दलित र मधेशी सचिव पनि थपिएको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । सात प्रदेशसहित काठमाडौं उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । । महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता हुनेछ । महासङ्घमा करीब १० हजार पत्रकार आबद्ध छन् ।