मुलुकी अपराध संहिताले विभिन्न ६ वटा अपराधमा संलग्न भएका व्यक्तिलाई बाचुञ्जेल जेलमा बस्नु पर्ने सजायको व्यवस्था गरेको छ। ८४ वर्षअघि बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै बनाइएको नयाँ अपराध संहिताले यस्तो सजायको व्यवस्था गरेको हो। नेपालमा जन्मकैदको सजायको व्यवस्था भएपनि बाचुञ्जेल जेल सजाय भोग्नु पर्ने कानून थिएन।
विश्वव्यापीरुपमा जघन्य अपराध गरेका व्यक्तिलाई जिन्दगीभर जेलमा बस्नु पर्ने व्यवस्था छ। कतिपय देशले त सिधै फाँसीको सजाय हुने व्यवस्था पनि गरेका छन्। साउन २५ गते पारित भएको विधेयकमा ६ वटा अपराधलाई फरक सूचीमा राखेर बाचुञ्जेल जेल बस्नु पर्ने व्यवस्था गरिएको समितिका सदस्य सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए।
पोखरेलले विश्वव्यापी मान्यतालाई समेत हेरेर जिन्दगीभर जेल सजाय भोग्नु पर्ने कानून बनाइएको बताए। ‘जिन्दगीभर जेल बस्नु पर्ने विश्वव्यापी व्यवस्था छ। हामीले पनि त्यसलाई आधार मानेर जघन्य अपराध गरेका व्यक्तिलाई जिन्दगीभर जेलमै बस्नु पर्ने व्यवस्था गरेका हौं,’ उनले भने। पोखरेलले यस्ता अपराधहरुका लागि फाँसीकै व्यवस्था गर्नु पर्ने कुरा उठेपनि नेपालको संविधानले त्यसको परिकल्पना नगरेको बताए। ‘कतिपय बेला फाँसीकै व्यवस्था गर्नुपर्छ भन्ने कुरा पनि उठेका हुन्छन्। मानव अधिकारसबन्धी राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरेकाले संविधानले त्यसलाई रोकेको छ,’ उनले भने।
उनले क्रुर यातना दिएर निर्ममतापूर्वक हत्या गरेको, अपहरण गरी हत्या गरेको लगायत ६ वटा अपराधमा संलग्नलाई जिन्दगीभर जेल बस्नु पर्ने व्यवस्था गरिएको बताए। अपराध संहिताले छाउपडीलाई पनि अपराधका रुपमा व्याख्या गरेको छ। ‘महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडी राख्नु हुँदैन वा त्यस्ता अन्य कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु हुँदैन,’ संहितामा उल्लेख छ।
रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राखेमा त्यस्ता व्यक्तिलाई तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ।
यी ६ अपराध गरे हुन्छ बाँचुञ्जेल जेलको बास
नेपालमा अहिलेसम्म बाचुञ्जेल जेल सजाय भोग्नु पर्ने कानुनी व्यवस्था थिएन। तर, मुलुकी अपराध संहिताले बलात्कारपछि हत्या गरे वा जातीय वा साम्प्रदायिक हत्या तथा अपहरणपछि हत्या गरेको अभियोग लगायत ६ वटा अपराध गरेको पुष्टि भए जिन्दगीभर जेल बस्नु पर्ने व्यवस्था गरेको छ।
अपराध संहिताले जबर्जस्तीकरणीपछि हत्या गरेको, जातीय वा साम्प्रदायिक हत्या गरेको, अपहरणपछि हत्या गरेको, अमानवीय हत्या गरेको (जस्तैः स्तन काट्ने, खुट्टा काटेर वा क्रुररता पूर्वक गरिने हत्या), प्लेन हाइज्याकिङ गरेर विष्फोटन गरी हत्या गरेको र पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको अभियोग पुष्टि भए जिन्दगीभर जेलमै बस्नु पर्ने कडा कानुनको व्यवस्था गरेको हो।
यसअघि कुनै जघन्य अपराध गरे जन्मकैदको सजाय हुने व्यवस्था भएपनि हुन्थ्यो। तर, अब अपराध संहिताले यस्तो अपराधमा संलग्न भएको पुष्टि भए जिन्दगीभर नै जेलमै बिताउनु पर्ने कडा कानुनको व्यवस्था गरेको हो।
जन्मकैदको सजाय अब २५ वर्ष
अवराध संहिताले जन्मकैदको सजायलाई पनि पाँच वर्ष बढाएको छ। २० वर्षमात्रै जन्मकैदको सजाय हुने व्यवस्थालाई परिवर्तन गर्दै २५ वर्ष पु¥याएको हो। अब अदालतले कुनै पनि अपराधमा जन्मकैदको सजाय सुनाएकाहरु २५ वर्ष जेलमै बिताउनु पर्नेछ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका ऐनहरु एक वर्षपछि मात्रै लागू हुनेछन्।