काठमाडौं । राप्रपाले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै १८ जना सांसद्लाई कारवाही गर्ने भएको छ ।
मंगलबार बिहान बोलाएको कार्यसम्पादन समिति, पदाधिकारी र संसदीय दलको बैठकले कारवाहीका लागि संसद् सचिवालयमा लेखि पठाउने तयारी गरेको एक नेताले बताए ।
राप्रपा केन्द्रीय समितिको बैठकले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई सोमबार बिहान बसेको संसदीय दलको बैठकले अनुमोदन गरेको थियो ।
बैठकपछि सचेतक कुन्ती शाहीले विधेयकको विपक्षमा मतदान गर्न ३७ जना सांसदलाई ह्वीप जारी गरेको भए पनि १९ जनाले मात्रै पार्टीको निर्णय मानेका थिए ।
बाँकी १८ जनालाई कारवाहीको प्रकृया अघि बढाउने तयारी भएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।
उनले मंगलबार बिहान बैठक बस्ने जानकारी दिँदै सोही बैठकले नै आवश्यक निर्णय लिन सक्ने बताए । तर कारवाहीका बारेमा भने केही बताएनन् ।