औषधि व्यवस्था विभागले डायटरी सप्लिमेण्टको आयातमा लगाएको रोकमा न्यायालयले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलाशले औषधि व्यवस्था विभागविरुद्ध परेको रीटमा शुक्रवार अन्तरिम आदेश दिएको हो ।
विभागले गत माघ २७ मा सूचना जारी गरी डायटरी सप्लिमेण्ट र न्युट्रास्युटिकल्सको नाममा भइरहेको आयातलाई रोक लगाएको थियो ।
शिव साई मेडी इण्टरप्राइजेजका सञ्चालक इन्द्रबहादुर आलेले विभागलाई प्रतिवादी बनाएर सो सूचनाविरुद्ध उच्च अदालतमा रीट हालेका थिए ।
विभागले थेराप्युटिक मात्राका औषधिबाहेक अन्य सम्मिश्रणका औषधिसमेत आयात र विक्रीवितरण भइरहेको भन्दै प्रतिबन्ध लगाएको थियो ।
विभागको आग्रहमा भन्सार विभागले मातहतका भन्सार कार्यालयलाई समेत त्यस्तो आयातमा रोक लगाउन गत चैतको तेस्रो साता पत्राचार गरेको थियो । विभागको परिपत्रपछि यस्ता वस्तुको आयात रोकिएको छ ।
उच्च अदालतले दिएको आदेशमा विभागको निर्णयमा उत्प्रेषण जारी नगर्नुपर्ने कारण भए १५ दिनभित्र प्रमाण पेश गर्न भनेको छ । अदालतले भदौ ७ गतेका लागि पेशी तोकेको छ । अदातलले सो मितिसम्म विभागको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिएको छ । निवेदकका तर्फबाट अधिवक्ता कल्पित पराजुलीले बहस गरेका थिए ।