काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री र राज्यमन्त्री गरेर ५० सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । मङ्गलवार नेपाली काङ्ग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना गरी १५ राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । देउवा सरकारमा आइतवार माओवादी केन्द्रका ८ राज्यमन्त्री थपिएका थिए ।
प्रधानमन्त्री देउवासहित २७ मन्त्री रहेको मन्त्रिमण्डलमा २३ जना राज्यमन्त्री थपिएका हुन् । प्रधानमन्त्री देउवाले अझै चार मन्त्रालय आफैं सम्हालिरहेका छन् । उनले सरकारमा थप्ने चार मन्त्री र तीनका पनि राज्यमन्त्री थपिदा यो सरकार इतिहासकै सबैभन्दा ठूलो मन्त्रिमण्डल बन्ने संभावना देखिएको छ ।
मङ्गलवार थपिएका राज्यमन्त्रीहरुमा काङ्ग्रेसका तर्फबाट सीता गुरुङ भौतिक पूर्वाधार, उदयशमशेर राणा अर्थ, नरबहादुर चन्द वाणिज्य, शेषनाथ अधिकारी शिक्षा, तप्तबहादुर विष्ट सूचना तथा सञ्चार, अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार, चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण, दिलमान पाख्रिन कानून, सरिता प्रसाई कृषि विकास, अमरसिंह पुन सिञ्चाई र तेजुलाल चौधरी युवा तथा खेलकुद राज्यमन्त्री भएका छन् । लोकतान्त्रिक फोरमबाट राज्यमन्त्रीमा जनकराज चौधरी स्थानीय विकास, सुमित्रा थरुनी पर्यटन र यशोदा कुमारी लामा भूमिसुधार रहेका छन् ।