काठमाडौं । अमेरिकालगायत छिमेकमा रहेका दक्षिण कोरिया, जापान र नजिकैको शुभचिन्तक चीनको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । जापानको सरकारी स्रोतले जनाएअनुसार, यो मिसाइल उत्तरी जापानको माथिबाट उड्दै समुद्रमा खसेको थियो ।
स्थानीय समयअनुसार मंगलबार बिहान यो मिसाइल छोडिएको थियो । जापानका तर्फबाट यो मिसाइललाई ध्वस्त पार्ने कुनै कोसिस गरिएन । जापानका स्थानीय सञ्चारमाध्यमले समुद्रमा खस्नुअघि सो मिसाइल आकाशमै तीन टुक्रा भएको बताएका छन् । यसअघि शनिबार पनि उत्तर कोरियाले तीनवटा कम दूरीका मिसाइलहरूलाई आफ्नो पूर्वी किनाराबाट परीक्षण गरेको थियो ।
बीबीसीका अनुसार, पछिल्लो घटनापछि जापान सरकारले मिसाइलले प्रभाव पार्ने क्षेत्रमा स्थानीय जनतालाई सचेत रहन भनेको छ । जापानको प्रसारण कम्पनी एनएचकेका अनुसार, यो परीक्षणबाट कुनै नोक्सानीको संकेत चाहिँ पाइएको छैन ।
जापानको मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिदे सुगाले उत्तर कोरियाको यो परीक्षणलाई ‘एक अभूतपूर्व, गम्भीर खतरा’ भनेर टिप्पणी गरेका छन् । बीबीसीका अनुसार, जापानले यसको जवाफमा ‘उचित कदम’ चाल्ने सुगाले बताएका छन् ।