काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा

782

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै रहेको, अरेवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको र स्थानीय वायुको प्रभावका कारण बुधबार राति नै देशका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी प्रणाली पूर्वदेखि पश्चिमसम्म नै फैलिरहेकाले बिहीबार देशका धेरै ठाउँमा पानी पर्नेछ । विशेषगरी पूर्वका धेरै ठाउँमा ठूलो पानी पर्नेछ । लगातार पानी परेपछि बाढी तथा पहिरोको जोखिम बढेको भन्दै भिरालो जमिन तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन उहाँको सुझाव छ ।

यसैबीच बिहीबार पूर्वी पहाडी र तराईको क्षेत्रबाट बहने मेची, विरिङ, कन्काई, सुनसरी खोला, त्रियुगा र कोसीमा बाढीको जोखिम बढेको बाढी पुर्वानुमान शाखाले जनाएको छ । विशेषगरी पूर्वी पहाडी क्षेत्र र मध्य पहाडी क्षेत्रका केही ठाउँमा झरीको संभावना भएकाले भिरालो र कमजोर जमिनमा पहिरोको जोखिम बढेको छ ।

यस्तै पहाडी ससाना खोलामा आकस्मिक पहिरो सहितको बाढी आउने संभावना भएकाले उच्च सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ ।