काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण र दोस्रो चरणमा हुने निर्वाचनका जिल्लाहरु तय गरेको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश÷जिल्ला÷निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकाले हिमाली तथा उच्च पहाडी भागमा पर्ने ३२ जिल्लाहरूमा मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरण मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।
सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, रूकुम (पूर्वी भाग) र रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मंसिरको १० गते नै निर्वाचन हुनेछ भने बाँकी जिल्लामा २१ गते हुनेछ ।
निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति :
प्रेस विज्ञप्ति
मिति : २०७४/५/१५
१. नेपाल सरकारलाई धन्यवाद ज्ञापन :
काठमाडौं, भदौ १५ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संवत् २०७४ साल मंसिर ४ गते र २१ गते गरी दुई चरणमा सम्पन्न गर्न आयोगबाट परामर्श दिइएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४।०५।०५ को बैठकबाट संवत् २०७४ साल मंसिर १० गते आइतबारका दिन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा भएको । एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा हुँदा निर्वाचनको तयारी र व्यवस्थापनमा विविध जटिलता रहने, कथंकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहने स्मरण गराउँदै तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको व्यहोरा उल्लेख गरी नेपाल सरकारलाई धन्यवाद ज्ञापन भएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।०५।१४ को वैठकबाट संवत् २०७४ साल मंसिर १० गते आइतबार पहिलो चरणमा र संवत् २०७४ साल मंसिर २१ गते बिहीबारका दिन दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने साथै मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश÷जिल्ला÷निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७४÷५÷१४ को पत्र प्राप्त भएकोे छ । दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ ।
२. पहिलो चरणमा ३२ जिल्ला र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन हुने :
आयोगको आजै बसेको बैठकले आगामि मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको छ । मिति २०७४/५/१५ गते आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा आयोगका माननीय सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको थियो ।
आयोगका निर्णय यस प्रकार छ :
“(क) नेपाल सरकारले संवत् २०७४ साल मंसिर १० गते आइतबारका दिन पहिलो चरणमा र संवत् २०७४ साल मंसिर २१ गते बिहीबारका दिन दोस्रो चरणमा सम्पन्न गर्ने गरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने र तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको व्यहोरा उल्लेख गरी नेपाल सरकार मन्त्रिपरिषदलाई लेखी पठाउने,
(ख) मुलुकको भौगोलिक अनुकूलतासमेतलाई विचार गरी दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि प्रदेश÷जिल्ला÷निर्वाचन क्षेत्रहरू निर्वाचन आयोगले नै निर्धारण गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएकाले हिमाली तथा उच्च पहाडी भागमा पर्ने देहायका ३२ जिल्लाहरूमा संवत् २०७४ साल मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लाहरूमा दोस्रो चरण संवत् २०७४ साल मंसिर २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने,
देहाय
(क) संवत् २०७४ साल मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी ।
(ख) संवत् २०७४ साल मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।
(ग) तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी ऐन अनिवार्य हुने भएकोले उक्त कानून शीघ्र आयोगमा उपलब्ध गराइदिने व्यवस्थाका लागि नेपाल सरकारलाई पुनः लेखी पठाउने ।
(घ) प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुनेमा आयोग विश्वस्त रहेको व्यहोरा नेपाल सरकालाई जानकारी गराउने ।”