टिकट बुकिङ अनिश्चित

878

काठमाडौँ, भदौ २३ गते । सरकार र यातायात व्यवसायीबीचको विवादका कारण दसैँका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित भएको छ । भदौं १५ गतेदेखि टिकट बुकिङ खुला गर्न भनिए पनि हालसम्म नहुँदा टिकट लिन बसपार्क पुगेका सार्वसाधारण त्यसै फर्किन बाध्य भएका छन् । भदौ १६ गते यातायात व्यवसायी र यातायात व्यवस्था विभागले २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेका थिए तर व्यवसायीले खुलाएका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफ्ना माग पूरा नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने जनाएको छ । भाडा सामायोजन, जाँचपास सहज तथा केरियर (बसको छत) यात्रु राख्न पाउनुपर्ने माग महासङ्घले असारदेखि गर्दैै आएको छ । सरकारले आफ्ना मागहरू पूरा गरे २४ घण्टामै अग्रिम टिकट बुकिङ खुला गर्न सकिने महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।
अध्यक्ष खनालले भन्नुभयो, अग्रिम टिकट बुकिङ निश्चित भएको छैन, यसमा हामी तयार छौँ तर खुलाउने नखुलाउने सरकारको हातमा छ, सरकारले सहमति कार्यान्वयन गर्नुप¥यो । अहिलेसम्म कुनै पनि सहमति कार्यान्वयन भएको छैन, भाडा समायोजन हुनुप¥यो ‘क्यरियर’ मा मान्छे राख्न पाउनु प¥यो । दसैँमा यात्रुका झिलिझाम्टा पनि हुने भएकाले राख्न समस्या हुन्छ त्यो कुरा सरकारले बुझ्नु प¥यो ।
भाडादर वृद्धि नगर्दासम्म यातायात व्यवसायीले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने अडानमा छन् । भाडा समायोजनाको नाममा चाडवाडमा मनोमानी भाडा उठाउने र वृद्धि गर्ने काम यसपटक पनि दोहो¥याउन व्यवसायी सक्रिय भएका छन् । सरकारले यात्रुवाहक सवारीसाधनबाट केरियर हटाउने निर्णय गरेको छ तर व्यवसायीले भने राख्न पाउनुपर्ने माग गरिरहेका छन् । अध्यक्ष खनालले भन्नुभयो, क्यरियर नराखी सम्भव नै छैन, त्यसैले क्यरियर राख्न पाउनु प¥यो अनि भाडादर समायोजन हुनु प¥यो, यी कुरा नहुँदासम्म अग्रिम बुकिङ खुलाउन सकिँदैन ।

विभागले अग्रिम टिकट बुकिङ खुला गर्न आग्रह गरे पनि व्यवसायीले मानिरहेका छैनन् । गत असारदेखि यातायात व्यवसायी भाडा समायोजन गर्न विभागलाई निरन्तर दबाब दिँदै आएका छन् । विभागले पनि साउनमा भाडा समायोजन समिति गठन गरेर काम गरेको थियो । समितिले प्रतिवेदन तयार गरेर विभागलाई बुझाएको थियो । विभाग र व्यवसायीहरू साउन महिनामै भाडा समायोजनका नाममा वृद्धि गर्ने अन्तिम तयारीमा थिए तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अस्वीकार गरेपछि भाडा वृद्धि रोकिएको थियो ।
विभागले महासङ्घका मागहरूप्रति काम भइरहेको जनाएको छ तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनायारण भट्टराई बताउनुभयो । उहाँले भन्नुभयो, भाडा समायोजनको काम भइरहेको छ, क्यरियर राख्ने कामका लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ नगरिए हामी कारबाही गर्छौं ।
विभाग भदौ १५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारीको थियो । भदौ २२ गतेबाट खुला गरिने सहमति भएको थियो । तर सहमति सरकार र व्यवसायी दुवै पक्षबाट कार्यान्वयन नभएपछि झन् अन्योल थपिएको छ । विगत चार वर्षदेखि सार्वजनिक सवारीको भाडादर समायोजन नभएको र बजार भाउ महँगो भएको भन्दै व्यवसायीले भाडा वृद्धिको माग गरिरहेका छन् । असारमा भाडा वृद्धि गर्न असफल भएपछि दसैँलाई प्रभाव पारेर भए पनि भाडा वृद्धि गर्ने दाउमा व्यवसायी लागेका छन् ।