सोल । उत्तर कोरियाले शुक्रबार अर्को क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले शुक्रबार बिहानदेखि प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरुले फेरि उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको समाचारमा जनाएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसङ्घको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले शुक्रबार पुनः ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हो ।
उत्तर कोरियाले गएको सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित मिसाइल हानेको थियो । सो परीक्षण अत्यन्तै शक्तिशाली थियो । आज पुनः गरेको उसको यो आर्को क्षेप्यास्त्र परीक्षण सातौँ पटक हो ।
यो परीक्षणमा पनि हाइड्रोजन बमका सेलहरु राखिएको अनुमान गरिएको छ । उत्तर कोरियाले यस कुराको स्वीकार पनि गरेको बताइएको छ । यो ब्यालेस्टिक क्षेप्यास्त्र अहिलेसम्मको सबैभन्दा लामो दुरीमा पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । उत्तर कोरियाले पनि सो कुराको पुष्टी गरेको छ ।
अमेरिकाले यसलाई मध्यम दुरीको क्षेप्यास्त्र हो भनेको छ । उसले अमेरिका र प्यासिफिक क्षेत्रका लागि यो क्षेप्यास्त्र कुनै चुनौती बन्न नसक्ने पनि निष्कर्ष निकालेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले यो क्षेप्यास्त्र ३७ सय किलोमीटर टाढासम्म र ७७० किलोमीटर उचाइमा पुग्न सक्ने क्षमताको रहेको देखाएको बताएको छ ।
यस ब्यालेस्टिक क्षेप्यास्त्र पनि शक्तिशाली रहेको उसको निष्कर्ष छ । यो क्षेप्यास्त्र जापानको आकासमा हानिएको छ । जापानको होकाइदो टापूको आकासमा यो क्षेप्यास्त्र पुगेको पुष्टी भएको छ ।
यस कुराको पुष्टी जापान र उत्तर कोरियाले पनि गरेका छन् । दक्षिण कोरियाको रक्षा मन्त्रालयले पनि यस कुराको पुष्टी गरेको छ । जापानले यस घटनाको कडा शब्दमा निन्दा एवम् भत्र्सना गरेको छ ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले शुक्रबार बिहान हानेको क्षेप्यास्त्र हाइड्रोजन बम मिसाउन सक्ने खालको रहेको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको पनि जनाएका हुन् ।
उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।
उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा हतियारको होडको त्रास बढाएको र विश्व शान्तिमा चुनौती थपिएको विश्लेषण गरिएको छ ।
संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ शुरु हुने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो क्षेप्यास्त्र परीक्षणको कोरियाली शृंखलालाई रोक्न सकेसम्म वार्ता र नभए अन्य विकल्पहरु खोज्न ढिला गर्न नहुने बताएका छन् ।
सुरक्षा परिषदको आकस्मिक बैठक
यसैबीच उत्तर कोरियाको आणविक परीक्षणका बारेमा आवश्यक छलफलका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शुक्रबारै आकस्मिक बैठक बोलाएको छ ।
न्युयोर्कबाट प्राप्त समाचारअनुसार सुरक्षा परिषदको बैठक शुक्रबार अबेर बोलाइएको छ । उक्त बैठकमा उत्तर कोरियाको पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका बारेमा आवश्यक छलफल हुनेछ ।
यसै हप्तामात्र उक्त परिषदबाट उत्तर कोरियामाथि कडा खालको नाकाबन्दी लगाइएको थियो । अमेरिकी प्रस्तावमा लगाइएको सो नाकाबन्दीको उत्तर कोरियाले विरोध गरेको थियो ।
उत्तर कोरियाले शुक्रबार गरेको यो ब्यालेस्टिक परीक्षण पनि सोही नाकाबन्दीको विरुद्धमा केन्द्रित रहेको जनाएको छ । उत्तर कोरियाले आफूमाथि नाकाबन्दी लगाउने अमेरिका र उसका सहयोगी देशलाई कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिले बोलाए आकस्मिक सुरक्षा बैठक
यसैबीच दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले शुक्रबारै राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
उनले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेकोले यसलबाट कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाएका हुन् ।
यहाँका राष्ट्रपतिको कार्यालय ब्ल्यू हाउसले दिएको जानकारीअनुसार उनले शुक्रबार अपराह्न सो बैठकको आह्वान गरेका छन् ।
उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण जापान र दक्षिण कोरियामा तनाव उत्पन्न भएको छ । यस अघि पनि १२ दिनअघि उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणका कारण ५।६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको थियो ।