भक्तपुरको पर्यटन उद्योगको सम्भाव्यताबारे बहस सुरु

451

भक्तपुर । स्थानीय तहमा जनप्रतिनिधि आएपछि भक्तपुर नगर क्षेत्रको पर्यटन उद्योग प्रवद्र्धनसम्बन्धी सम्भाव्यताबारे बहस सुरु भएको छ ।

विश्व सम्पदा भक्तपुर दरबार क्षेत्रसँगै अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरुले भरिपूर्ण भक्तपुर नगरको पर्यटन प्रवद्र्धनसम्बन्धी बहस सुरु भएको हो ।

भक्तपुर पर्यटन विकास समिति (बीटीडीसी) ले ३८ औं विश्व पर्यटन दिवसको अवसरमा पर्यटनसँग सम्बन्धित सरोकारवाला निकाय, राजनीतिक दल, पर्यटनविज्ञ तथा जनप्रतिनिधिहरुको उपस्थितिमा उक्त बहसको उत्थान गरेको हो ।

बहसमा समितिले भक्तपुरको पर्यटन उद्योगका आधार, चुनौती, सम्भावनासँगै पर्यटन विकासको आवश्यकता र यसको सुनिश्चित भविष्यबारे प्रश्न उठाएको छ । त्यस्तै पर्यटन उद्योग प्रवद्र्धनमा सबैलाई जिम्मेवार बनाउने सांस्कृतिक सोचको विकास गर्ने उद्देश्यले बहस छेडिएको समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए ।

‘हामीकहाँ सबै आफ्नो हित र फाइदामात्रै खोज्ने प्रवृत्ति बढेको छ । तर केही पाउन केही गुमाउनुपर्ने प्राकृतिक नियम हो’, उनले भने, ‘त्यसैले भक्तपुरको पर्यटन प्रवद्र्धनमा स्थानीय निकाय, राजनीतिक दल, पर्यटन व्यवसायीलाई यसप्रति जिम्मेबार बनाउने उद्देश्यले बहस अघि बढाएका हौं ।’

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारमा जाने प्रधानमन्त्री तथा मन्त्रीहरुमा सोचको अभाव हुँदा हरेक क्षेत्रमा नेपाल पछि परेको प्रतिक्रिया दिए ।

उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक रुपमा संरक्षण र विकास गर्नुपर्छ भनी कुरा उठाएको तीन दसक हुन लाग्दा पनि सरकारमा जाने दलका नेताहरुले ध्यान नदिएको गुनासो गरे ।

‘सरकारमा जाने हाम्रा राजनीतिक दल र त्यसका नेताहरु नै ठीक छैनन्’, अध्यक्ष बिजुक्छेले आक्रोश पोखे, ‘उनीहरुको दिमाग नै खाली छ । त्यसैले उनीहरु आफूले पनि सोचेर गर्दैन र अरुले भनेको कुरा पनि सुन्दैनन् ।’
उनले जनताकै सक्रियतामा भक्तपुरमा सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको परिभाषा र सोचाइमा धेरै परिवर्तन आएकाले भक्तपुर पनि समय परिस्थितिअनुसार चल्नुपर्ने सुझाव दिए ।
‘पर्यटनको सम्भावनाले भक्तपुर धेरै धनी छ’, उनले भने, ‘तर भक्तपुरको प्रचार हुन सकेको छैन । अन्तर्राष्ट्रियस्तरमा भक्तपुरले प्रचार पाउने हो भने यसले पर्यटनमा फड्को मार्ने निश्चित छ ।’

त्यस्तै नेपाल टुर्स एण्ड ट्राभल एजेन्टस् एसोसियसन (नाटा) का अध्यक्ष मधुसूदन आचार्यले नेपालमा विमानस्थलको विस्तार तथा विकास हुन नसक्दा विश्व सम्पदाहरु नै पर्यटकविहीन रहनुपरेको स्पष्ट पारे ।
‘नेपालमा पर्यटकीय पूर्वाधार बन्न नसक्दा यहाँ आउने पर्यटकहरु अन्यत्रै डाइभर्ट भइरहेका छन्’, उनले भने, ‘अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल झन् झन् खस्कँदै आएको छ ।’

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीइ गन्तव्यस्थल बनाउने आफूहरुको लक्ष्य रहेको सुनाए ।
उनले नपाले सम्पदा संरक्षण र नगरको सफाइमा करोडौं रुपैयाँ लगानी गरे पनि त्यसको दाँजोमा भक्तपुरमा कममात्रै पर्यटक पुगेकोप्रति आफूहरु गम्भीर रहेको बताए ।

‘नेपाल आएका पर्यटकमध्ये ३० प्रतिशतमात्रै भक्तपुर पुग्छन् । भक्तपुर आएका पर्यटक यहाँ दुई घन्टाभन्दा बढी बस्दैनन्’, प्रमुख प्रजापतिले भने, ‘यसले हामीलाई पर्यटन प्रवद्र्धनमा गम्भीर बनाएको छ । त्यसैले भक्तपुरमा बढीभन्दा बढी पर्यटक ल्याउने र उनीहरुको भक्तपुर बसाइ लम्ब्याउन रात्री पर्यटन प्रवद्र्धन गर्न भक्तपुर नपा लागिपरेको छ ।’
कार्यक्रममा भक्तपुरका सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी, सामाजिक उद्यमी अनिल चित्रकार, भक्तपुर पर्यटन विकास समितिका पूर्वअध्यक्षद्वय नवलकिशोर राजभण्डारी र दिवानचन्द्र धौभडेलले भक्तपुरको मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमार्फत यहाँको पर्यटन उद्योग प्रवद्र्धन गर्न सकिने धारणा राखे ।

भक्तपुरले लाखौं पर्यटकहरुलाई आकर्षित गर्न सक्ने क्षमता भएर पनि त्यसलाई ‘क्यास’ गर्न नसकेको उनीहरुको भनाइ थियो ।
समितिका महासचिव दीपेशराज शर्माले भक्तपुर नगरसँगै भक्तपुरका बाँकी तीन नगरपालिका मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायकको पर्यटन प्रवद्र्धनबारे बहस अघि बढाइने जानकारी दिए ।