अमेरिकाको लास भेगासमा गोलाबारी, २० को मृत्यु, १०० बढी घाइते

518

अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोलीबारीमा कम्तिमा २० जनाको मृत्यु भएको छ । अन्य एक सय जना घाइते भएका छन ।

आइतबार राती मण्डाले बे रिसोर्ट र क्यासिनोमा एक सांगितिक कार्यक्रम चलिरहेका बेला गोलाबारी भएको थियो । सीएनएनका अनुसार, गोलाबारी रिसोर्टको ३२ औं तल्लाबाट भएको थियो । अमेरिकामा पछिल्लो समयमा यस्ता गोलाबारीका घटना बढी चल्न थालेका छन् ।

बिभिन्न समाचार एजेन्सीले जनाए अनुसार, प्रहरीको जबाफी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । लास भेगासको सनसेट स्ट्रिप इलाकाको अर्को एक स्थानमा पनि यस्तै घटना भएको छ । आक्रमणपछि लास भेगास एयरपोर्टमा कयौं उडानको रुट बदलिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मन्डाले वे क्यासिनोको माथिल्लो तलामा गोली चलेको आवाज सुनिएको थियो । भिडियो फुटेजमा म्युजिक फेस्टिबलमा भाग लिइरहेकाहरु ज्यान जोगाउन भागाभाग गरिरहेको दृष्य देखिएको छ । सँगसँगै गोली चलिरहेको आवाज पनि सुनिएको छ । लास भेगास प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । घटनास्थल वरपरको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीको तैनाथी पनि बढाइएको छ ।